मधेस प्रदेश : दुई पक्षबीच झडप भएपछि वीरगञ्जमा आज १२ बजेसम्म ‘कर्फ्यू’

मिति: २०२५-०४-१३ , समय : ०८:०१:४२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डौ । मधेस प्रदेशको पर्साको वीरगञ्जमा दुई पक्षबीच झडप भएपछि ‘कर्फ्यू’ लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले हिजो बेलुकी साढे ७ बजेदेखि आज दिनको १२ बजेसम्मका लागि ‘कर्फ्यू’ आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हनुमान जन्मोत्सवका अवसरमा तनाव भएसँगै शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि ‘कर्फ्यू’ आदेश जारी गरिएको बताउनुभयो । कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी ‘कर्फ्यू’ आदेश जारी गरेको छ ।

जसअनुसार पूर्वः भेडियाही चौक– वीरगञ्ज महानगरपालिका–१५, पश्चिमः सिर्सिया पुल–वीरगञ्ज महानगरपालिका–२५ सम्म ‘कर्फ्यू’ आदेश जारी गरिएको हो । यस्तै, उत्तरतर्फ गण्डक चोकदेखि वीरगञ्ज महागरपालिका–१४ सम्म तथा दक्षिणतर्फ शङ्कराचार्य गेट– वीरगञ्ज महानगरपालिका–१६ सम्म ‘कर्फ्यू’ आदेश कायम रहने प्रशासनले जनाएको छ ।

यसअघि हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा स्थानीय दुई समूहबीच झडप भएको थियो । झडप नियन्त्रण गर्न प्रहरीले दुई राउन्ड हवाईफायर र केही सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपमा केही प्रहरी घाइते भएका छन् ।

प्रकाशित मिति: २०२५-०४-१३ , समय : ०८:०१:४२ , 1 day अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित