भ्रष्टाचार मुद्दामा फरार सप्तरीको रुपनीका पूर्ववडाध्यक्ष पक्राउ
मिति: २०२५-०४-१२ , समय : १२:१२:१५ , गामघर डेस्क
मिति: २०२५-०४-१२ , समय : १२:१२:१५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
भ्रष्टाचार मुद्दामा सर्वाेच्च अदालतबाट समेत दोषी ठहर भएका निवर्तमान वडाध्यक्ष पक्राउ परेका छन्। सप्तरीको रुपनी गाउँपालिका वडा न.१ का निवर्तमान वडाध्यक्ष पीताम्बर यादवलाई सप्तरी प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ भदौ ०७४ मा नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा करार सेवामा जागिर खाएको अभियोगमा विशेष अदालतमा मुदा दायर गरेको थियो । सो मुद्दामा ०७४ पुस २१ गते विशेष अदालतका न्यायाधीश द्वारिकामान जोशी, नारायणप्रसाद पोखरेल र रत्नबहादुर बागचन्दको संयुक्त इजलासले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) को कसुरमा दोषी ठहर गर्दै ६ महिना कैद र १५ हजार जरिवाना गर्ने फैसला सुनाएको थियो ।
वडाध्यक्ष पदमा निर्वाचित भइसकेपछि दोषी ठहर भएका यादव ०७५ साल पुस ११ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सो मुद्दामा ०८० फागुन २२ गते सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पनि विशेष अदालतकै फैसला सदर गरेका थिए । त्यसपछि यादव लुकिछिपी बस्दै आएका थिए ।
शुक्रबार साँझ रुपनी जाँदै गरेको वेलामा उनलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए । आइतबार अदालतमा पेस गरी फैसला कार्यान्वयनका लागि कारागार पठाइने उनले बताए। नयाँ पत्रिका
प्रकाशित मिति: २०२५-०४-१२ , समय : १२:१२:१५ , 15 hours अगाडि