मधेस प्रदेशको जनकपुरको मालपोतमा घुस नबुझाई कामै नहुने सेवाग्राहीको गुनासो

धनुषामा जिउँदो व्यक्तिलाई मरेको बनाएर जग्गा हडप्ने ७ जनालाई अदालतले दियो सजाय

मिति: २०२५-०४-१२ , समय : ११:३४:१८ , अनिल मिश्र

तस्बिर : सामाजिक सन्जालबाट

अनिल मिश्र

जनकपुरधाम । भू-माफिया र जनप्रतिनिधिको मिलोमतोमा धनुषामा जिवितै मानिसलाई मरेको कीर्ते कागजात बनाएर अर्कैको नाममा जग्गा पास गराएको घटनामा जिल्ला अदालत धनुषाले ७ जनालाई दोषी ठहर गरेको छ । कैद र जरिवाना सजाय पाउनेमा बिचौलियादेखि मालपोत कर्मचारी र जनप्रतिनिधि पनि छन् । तर पनि मालपोत कार्यालयमा घुस र भ्रष्टाचार रोकिएको छैन ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका लबटोलीस्थित १४ कठ्ठा १० धुर क्षेत्रफलको आँपको बगैंचा २०७७ असार १५ मा दुर्गामाया कार्की र शिवन खत्रीको नाममा नामसारी गरियो । त्यतिबेला जग्गाधनी पद्मकुमारी कार्की जिवितै भए पनि मृत्यु भइसकेको कीर्ते कागजात बनाएर जनप्रतिनिधि र मालपोतका कर्मचारीको मिलेमतोमा जग्गा नामसारी गरिएको थियो । यो जग्गा २०७७ भदौ २२ गते फेरि ताप्लेजुङका बुद्धिमान लिम्बूको नाममा पास भयो । तर, कीर्ते कागज खडा गरी तेस्रो व्यक्तिको नाममा नामसारी भएको जग्गा साढे चार वर्षपछि जिल्ला अदालत धनुषाले लिखत र नामसारी बदर गरी पद्मकुमारी कार्कीकै नाममा पुनः कायम गरिदिएको छ ।

जग्गाधनी पद्मकुमारी बितेको डेढ वर्षपछि आएको फैसलामा सरजमिन मुचुल्का, बाटो सिफारिस, नाता प्रमाणित, वारिसनामा लगायतका कीर्ते कागजात तयार गरेको फौजदारी र संगठितको सरकारवादी मुद्दामा दोषी ठहर गर्दै धनुषा अदालतले ७ जनामाथि कैद र जरिवाना निर्धारण गरेको छ ।
न्यायाधीश युदराज शर्माको इजलासले दुवै मुद्दामा तत्कालीन वडाध्यक्ष गणेशकुमार सिंहलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तथा आफ्नो नाममा नामसारी गराउने दुर्गामाया कार्की र शिवन खत्रीलाई जनही ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना गरेको छ ।
यस्तै, जग्गा हेराफेरी कार्यमा संलग्न स्थानीय अर्जुनकुमार साहलाई ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना, उमेश मण्डललाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, शोभित पासवानलाई साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तथा तत्कालीन मालपोत कार्यालयका निमित्त प्रमुख सुनीलकुमार झालाई संगठित अपराधमा संलग्न रहेको भन्दै १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना फैसला भएको छ ।

यति हुँदाहुँदै पनि भूमिसुधार तथा मालपोतका कर्मचारीहरुले सेवाग्राहीहरुसँग घुस लिन भने छाडेका छैनन् । मालपोतमा काम लिएर आएका सबैला नगरपालिका-११ का रामशीतल ठाकुर भन्नुहुन्छ, ‘पाँच सयको काम छ भने उनीहरुले २५ सयमा काम गर्न लगाउँछन् । भित्र गएर उनीहरुले कोड नम्बर के राखेका हुन्छन् अनि फलानो लेखनदासको मार्फत काम भनेर गरेका हुन्छन् ।’
तत्कालै हुने कामलाई पनि कागज अपुग रहेको लगायतका बहाना देखाएर कर्मचारीले अतिरिक्त रकम असुल्ने गरेको सेवाग्राहीको आरोप छ ।
धनुषाधाम नगरपालिका-२ की मीनादेवी साहको अनुभव छ, ‘जसको पैसा अगाडि हुन्छ, उसको काम छिटो हुन्छ । जसको पैसा हुँदैन, उसलाई आज काम हुँदैन भनेर भोलि आउनु, भोलि हुँदैन पर्सि आउनु भनेर महिना-महिना दिन लागिरहेको हुन्छ ।’
धनौजी गाउँपालिका भडरियाका सर्वनारायण डाई भन्नुहुन्छ, ‘पैसा तिरेर लेखनदासले काम लग्यो भने सरासर गरिदिन्छन्, होइन भने त्यही काम सामान्य कुरा मिलेन भनेर गरिदिँदैनन् ।’
सेवाग्राहीसँग अतिरिक्त रकम असुलेर ल्याउन हाकिमहरुले नै दबाव दिने गरेको कर्मचारीहरुको गुनासो छ ।
मालपोत कार्यालयमा बेथिति छ भन्ने गुनासो जानकारीमा आइरहेको धनुषाका भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख गणेशप्रसाद अर्याल नै स्वीकार गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो बेथिति रोक्न निर्मम रुपमा प्रस्तुत हुन्छौं । तत्काल कार्यालयको कार्यवातावरण र कार्यसंस्कृति सुधार गर्न केही प्रयासहरु सुरु गर्दैछु ।’
अत्याधिक भीडभाड हुने मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा जग्गा रजिस्ट्रेसन, नामसारी, कित्ताकाटको सिफारिस, जग्गा रोक्का र फुकुवा लगायतका कामकाजका लागि दैनिक ५ सयभन्दा बढीसेवाग्राही आउने गरेका छन् ।

प्रकाशित मिति: २०२५-०४-१२ , समय : ११:३४:१८ , 16 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित