मिथिलान्चलमा नयाँ वर्ष २०८२ तथा ‘जुडशीतल’को चहलपहल शुरू
मिति: २०२५-०४-१० , समय : १३:२२:०९ , गामघर डेस्क
मिति: २०२५-०४-१० , समय : १३:२२:०९ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । नयाँ वर्ष २०८२ शुरू हुन केही दिन बाँकी छँदै मधेश प्रदेशका जिल्लामा ‘जुडशीतल’ पर्वको चहलपहल शुरू भएको छ ।
महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा त्यसका लागि सरसामान जुटाउन थालिएको छ । विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा ‘जुडशीतल’ पर्व मनाइने मैथिल परम्परा छ । विभिन्न परिकार खाने र ख्वाइने यो पर्वमा खाद्य सामग्रीको जोहोसँगै हिलोधुलो खेलेर रमाइलो गरिन्छ ।
आउँदो सोमवार र मङ्गलवार यो पर्व मनाइन्छ । मिथिलामा वैशाख सङ्क्रान्तिका दिनदेखि भोलिपल्टसम्म दुई दिन ‘जुडशीतल’ पर्व मनाउने चलन छ । सङ्क्रान्तिको पहिलो दिनलाई ‘सतुवाइन’ र भोलिपल्ट अर्थात् वैशाख २ गतेलाई ‘जुडशीतल’ भनिन्छ ।
पहिलो दिनलाई ‘सतुवाइन’ भनिए पनि दुवै दिन ‘जुडशीतल’ पर्वकै दिन मानिन्छन् । पहिलो दिन चना, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरी खाद्यान्नको सातु तथा माटोको अङ्खरामा सख्खरको सर्वत बनाएर कुलदेवतालाई चढाएपछि कुलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरिन्छ ।
बढ्दो गर्मीमा शीतलता दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् । पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाइने विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको हो ।
यसैगरी दोस्रो दिन (वैशाख–२ गते) घरपरिवारमा आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने चलन छ ।
बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ । पर्व नजिकिँदै गर्दा मिथिलानी आ–आफ्ना घरआँगन सरसफाइ र लिपपोतमा लागेका छन् । ‘जुडशीतल’ पर्वमा आफ्ना खेतबारीका रूखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना पनि गरिन्छ । रासस
प्रकाशित मिति: २०२५-०४-१० , समय : १३:२२:०९ , 3 days अगाडि