सप्तरीका २५ जना शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई अत्याधुनिक ह्वीलचेयर वितरण
म सधैं जनताको सेवामा समर्पित छु : मन्त्री साह
मिति: २०२५-०४-०७ , समय : ०९:५५:१५ , गामघर डेस्क
मिति: २०२५-०४-०७ , समय : ०९:५५:१५ , गामघर डेस्क
गामघर डेस्क
हनुमाननगर ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले आइतबार आफ्नो गृहनगर सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा आयोजित विशेष समारोहका बीच २५ जना शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई अत्याधुनिक ह्वीलचेयर वितरण गरेका छन्।
रोटरी क्लब अफ बर्दिवास र रोटरी क्लब अफ मेट्रो काठमाडौंको सहकार्यमा उपलब्ध गराइएका यी प्रविधियुक्त ह्वीलचेयरहरू जीवनयापनमा कठिनाइ भोगिरहेका नागरिकहरूका लागि ठूलो सहारा बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा मन्तव्य दिँदै मन्त्री साहले शारीरिक अशक्तता भएका व्यक्तिहरूप्रति राज्य र समाज दुवैको गम्भीर जिम्मेवारी रहेको उल्लेख गर्दै यस्ता सहयोगात्मक पहलहरूले उनीहरूलाई आत्मनिर्भर बन्न उत्प्रेरणा दिने विश्वास व्यक्त गरे।
उहाँले भने, “सरकारका कार्यक्रमहरू केवल नीति र कागजमा सीमित हुन हुँदैन, त्यसले प्रत्यक्ष रूपमा नागरिकको जीवनमा परिवर्तन ल्याउनु आवश्यक छ। म सधैं क्रियाशील रूपमा जनताको सेवामा समर्पित छु।”
मन्त्री साह विगतदेखि नै सामाजिक उत्तरदायित्वप्रति सजग, समर्पित र मानवीय भावना सम्पन्न व्यक्तित्वका रूपमा परिचित रहँदै आएका छन्। जनसरोकारका विषयमा सक्रिय सहभागिता जनाउँदै आएका मन्त्री साहको यो कार्यले स्थानीयवासी र लाभान्वितहरूमा विशेष उत्साह र सम्मानको भावना उत्पन्न भएको छ।
उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, समाजसेवीहरू, सञ्चारकर्मीहरू तथा लाभान्वित नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २०२५-०४-०७ , समय : ०९:५५:१५ , 5 days अगाडि