गणतन्त्रवादी-राजावादीको प्रदर्शन : विद्यार्थीको परीक्षा सकिएपछि मात्रै प्रदर्शनको तयारी , सादा पोशाकमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

मिति: २०२५-०३-२८ , समय : ०७:२८:४७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । शुक्रबार आज काठमाडौंमा गणतन्त्रवादी र राजावादीको बेग्लाबेग्लै प्रदर्शन हुँदैछ । प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा पूर्वराजा समर्थकले प्रदर्शन गर्न लागिेका हुन् ।
जसको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी खटाइने भएको छ । सम्भावित मुठभेठ रोक्नका लागि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा वरिष्ठ उपरीक्षक विश्व अधिकारीको नेतृत्वमा ३५ सय सुरक्षाकर्मी परिचालन हुने छन् ।काठमाडौं परिसरमै कमाण्ड सेन्टर बनाएर प्रहरी खटाइने व्यवस्था मिलाइएको छ । नेपाल प्रहरीले शुक्रबार २४ घण्टा सुरक्षा व्यवस्था कायम राख्ने तयारी गरेको छ ।
सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले प्रदर्शनीमार्ग र तीनकुनेमा सादा पोशाकमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नेछ । गणतन्त्रवादी राजावादीबीच घुसपैठको जोखिम पनि उत्तिकै रहेको छ ।
तर प्रदर्शनमा घुसपैठको खतरा नरहेको प्रहरीको उच्च स्रोत बताउँछ । यद्यपि प्रहरीले उच्च सतर्कता अपनाउने छ । समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गरेको छ ।कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिपुरेश्वरबाट प्रदर्शनीमार्ग पुग्नेछन् । यता सुरक्षा रणनीति अनुसार पूर्वराजाका समर्थकलाई सकभर रिङरोडमा मात्रै जुलुस निकाल्ने गरी ‘कर्डन’को व्यवस्था मिलाइएको छ ।भक्तपुरबाट आउने राजावादीहरूलाई तीनकुनेमै रोक्ने रणनीतिमा प्रहरी रहेको छ । गणतन्त्रवादी र राजावादीलाई भेट हुन नदिने रणनीतिमा प्रहरी रहेको छ । यसैगरी ट्राफिक व्यवस्थापनका लागि करिब ७ सय ट्राफिक प्रहरी खटिनेछन् ।
शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी चुक्दैन : एसएसपी अधिकारी
जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले प्रदर्शनकारी दुवै पक्षले प्रशासनबाट अनुमति लिएकाले तोकिएको स्थानमै कार्यक्रम गर्न सहमत भएको बताएका छन् ।उनका अनुसार, काटेश्वरबाट आउने जुलुसलाई बानेश्वर प्रवेश गर्न नदिइने र समाजवादी पक्ष तिनकुने करिडोर हुँदै आउने व्यवस्था मिलाइएको छ ।आम नागरिकको आवागमन प्रभावित हुन नदिन ट्राफिक डाइभर्सनको व्यवस्था गरिएको उनले बताए । साथै, यातायात सम्बन्धी जानकारीका लागि ‘१०३’ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
‘सकभर मुठभेड हुन दिने अवस्था आउन दिँदैनौं, शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी चुक्दैन । प्रदर्शनमा उत्रिनेहरूलाई पनि संयम भएर शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न हामी सुझाउँछौं,’ उनले भने ।
यता काठमाण्डौमा आज राजावादी र गणतन्त्रवादीले छुट्टाछुट्टै प्रदर्शन गर्न लागेपछि सुरक्षा सतर्कता बढाइएको छ ।

राजावादीहरुको जुलुस चक्रपथभित्र प्रवेश गर्न नदिने र समाजवादी मोर्चाको जुलुसलाई चक्रपथभित्र केन्द्रित गर्ने गरी सुरक्षा रणनीति बनाइएको प्रहरीले जनाएको छ ।

एसईई ११ बजेसम्म सञ्चालन हुने भएकाले १२ बजेपछि मात्रै प्रदर्शन शुरू हुने समाजवादी मोर्चाले जनाएको छ ।

राजावादीहरुको प्रदर्शन पनि ११ बजेपछि शुरू गर्ने तयारी छ । प्रशासनले राजावादीहरूको प्रदर्शनका लागि तीनकुने र समाजवादी मोर्चाका लागि भृकुटीमण्डपमा ठाउँ तोकेको छ ।

समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेका हुन् ।

यस्तै नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंसँग मिलेर प्रदर्शन गर्न लागेको छ ।

राजावादीहरुलाई चक्रपथबाहिर मात्रै जुलुस निकाल्न दिने र समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गरिएको छ ।

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरु राखेर प्रदर्शन गर्दा र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा शान्तिपूर्ण तरिकाले गर्न अपिल गरेको छ ।

आयोगले समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र सङ्गठनहरुले शक्ति प्रदर्शनको तयारी गरेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्तो अपिल गरेको हो ।

आयोगले निकालेको विज्ञप्तिमा आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनमा उल्लिखित प्रावधानको पालनामा संवेदनशील हुन भनिएको छ ।

प्रकाशित मिति: २०२५-०३-२८ , समय : ०७:२८:४७ , 3 weeks अगाडि