विराटनगरमा पहिचानवादीको प्रदर्शन : स्थिति तनावग्रस्त, नियन्त्रणमा लिन चार राउण्ड हवाई फायर
मिति: २०२३-०३-१९ , समय : १५:१९:४९ , गामघर डेस्क
मिति: २०२३-०३-१९ , समय : १५:१९:४९ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । कोशी प्रदेशको नाम खारेज गरेर पहिचान समेटिने नाम राख्नुपर्ने माग राखेर विराटनगरमा आइतबार पहिचानवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।
प्रदेशको पुनः नामकरणको माग गर्दै संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छेउ रोड शेषतर्फ बढ्ने क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारी आक्रोशित बनेका छन् । अहिले विराटनगरका महेन्द्रचौक–रोडशेषचौक स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्मको दुरीमा स्थिति तनावग्रस्त बनेको हाम्री सहकर्मी सुजता लिम्बुले जानकारी दिएकी छिन् ।
आन्दोलनकारीले सकडमै टायर बालेर विरोध गरिरहेका छन् । प्रहरीको उल्लेख्य संख्यामा उपस्थिति रहेको छ । प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । प्रदर्शनमा उत्रने चारजनालाई प्रहरीले पक्राउ गरेको जानकारी दिइएको छ ।
स्थानीय प्रशासनले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । निषेधित क्षेत्रतर्फ प्रदर्शनकारीको ठूलो संख्या बढिरहेको बेला प्रहरीले अश्रुग्याँस प्रहार गरेर प्रदर्शनलाई तितरबितर बनाएको छ ।
दिउँसो १ बजेदेखि प्रदर्शन सुरु भएको हो । प्रदर्शनमा माओवादी नेता गोपाल किराँती, लिम्बुवानका नेता तथा पहिचान पक्षधरहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङलगायतले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।
प्रदर्शनका लागि जिल्लाजिल्लाबाट ठूलो संख्यामा पहिचानवादी प्रदर्शनकारी विराटनगर आएका छन् । आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेको थियो । अावर विराटनगरबाट
प्रकाशित मिति: २०२३-०३-१९ , समय : १५:१९:४९ , २ वर्ष अगाडि