मधेस प्रदेश : प्रेम सम्बन्धकै कारण युवकको हत्या भएको खुलासा
मिति: २०२५-०२-२८ , समय : ०८:०६:३९ , गामघर डेस्क
मिति: २०२५-०२-२८ , समय : ०८:०६:३९ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शव ३३ वर्षीय शहीद अन्सारीको भएको खुलासा भएको छ । अन्सारीलाई उनकी प्रेमिका अनिता कुमारी यादव र उनका श्रीमान राजकिशोर यादवले मिलेर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । कतारमा कार्यरत अन्सारी र अनिताबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो ।
अन्सारी नेपाल आएसँगै मंसिर २७ गते अनिता र उनका श्रीमानले अन्सारीलाई बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले बताए। हत्या पछि शव जुटको बोरामा बेरेर खैरा खोलामा फालिएको थियो । शव पहिचान गर्न नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको थियो । माघ १० गते मृतककी श्रीमती अजिमा खातुनले प्रहरीको फेसबुक पेजमा फोटो हेरेर सनाखत गरेपछि घटना सार्वजनिक भएको थियो। अनिता यादवलाई गाउँबाटै पक्राउ गरी अदालतबाट तीन दिनको म्याद थप गरिएको छ भने उनका श्रीमान् राजकिशोर यादव हत्या पछि साउदी अरब फरार रहेको उपरीक्षक तिवारीले बताए। उनलाई नेपाल फर्काउन कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०२-२८ , समय : ०८:०६:३९ , 1 month अगाडि