अनुगमनका नाममा अस्पतालमा त्रास फैलाएका मुख्यमन्त्री सिहले आफनै बुबाविरुद्ध किन चलाउँदैनन् अभियान … ?
मिति: २०२५-०२-२५ , समय : २१:४६:१८ , गामघर डेस्क
मिति: २०२५-०२-२५ , समय : २१:४६:१८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको सकृयताका कारण यतिवेला मधेसमा गैरकानुनी अस्पताल चलाएर सर्वसाधारणलाई लुटिरहेका सञ्चालकको रुवावासी छ।
उनले थालेको अस्पताल अनुगमनका क्रममा दर्ता प्रक्रियाविना नै सञ्चालनमा रहेका करिव २ दर्जनको हाराहारीमा अस्पताल बन्द भईसकेका छन्। अनुगमनका क्रममा कागजी प्रक्रिया मात्रै पूरा गरी सञ्चालनमा रहेका अस्पताल पनि भेटिएका छन्।
हुन त उनका विरुद्ध अस्पताल सञ्चालकहरु सडकमा उत्रिनेसम्मको अवस्था वनेको छ। तर कतिपय अस्पतालको लापर्वाहीले सर्वसाधारणले अकालमा ज्यान गुमाउनु परिरहेको अवस्थामा मुख्यमन्त्रीले चालेको यो कदम सह्रानिय छ।
यद्यपी, उनको यो अभियानलाई आँखा चिम्लेर विश्वास गरिहाल्ने अवस्था भने छैन। ‘कतै जनताको आँखामा छारो हाल्ने काम त भईरहेको छैन?’ भनेर शंका गर्ने सुविधा भने छन्। किनकी पृष्ठभुमी हेर्दा उनको राजनीतिको केन्द्रमा जनता देखिएका छैनन्। त्यसैले उनको यो सक्रियतालाई कतिपयले ‘स्टण्ट’ को उपमा पनि दिएका छन्। त्यसको पछाडि विभिन्न कारण छन्। धेरै कारण मध्ये छानेर हेर्नु पर्दा पहिलो कारण भनेको उनको ढल्न लागेको कुर्षी हो। दोस्रो कारण– उनको विगत।
कुर्षी ढल्न लागेपछि चर्चा कमाई हाल्ने लोभ
पछिल्लो समय अध्यादेश प्रकरणका कारण संघीय राजनीति हलचल छ। केपी शर्मा ओली नेतृत्वको सरकार आफुले ल्याएका अध्यादेश राष्ट्रिय सभाबाट पारित गराउन उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) लाई गठवन्धनमा मिलाउन प्रयासरत छ। गठवन्धनमा मिल्नु पर्दा उपेन्द्रले पहिलो सर्तका रुपमा मधेशको मुख्यमन्त्री माग्ने पक्का छ। केही दिनअघि यी विषयमा समाचार समेत सार्वजनिक भएका थिए।
त्यो अवस्थामा सिंहको मुख्यमन्त्री पद जाने निश्चित छ। तर, अहिलेसम्म उनले जनताको नजरमा आउने कुनै काम गर्न सकेका छैनन्। प्रदेशका विकास निर्माणका काम चौपट छ। विकासीय वजेट खर्च हुन सकेको छैन। शिक्षा क्षेत्र तहस नहस छ। उनकै जिद्दिका कारण राजविराजमा सञ्चालित मधेश कृषि विश्वविद्यालय वन्द हुने अवस्थामा पुगेको कसैबाट लुकेको छैन।
विश्वविद्यालयमा अहिले जसपा नेतृत्वले नियुक्त गरेका उपकुलपति र रजिस्ट्रार छन्। उनीहरुलाई असफल देखाउने र अप्ठ्यारोमा पार्ने नियतले वजेट रोक्दा सयौं विद्यार्थीको पढाई अन्धकारमा छ। ६ महिनादेखि तलब नपाएको भन्दै प्राध्यापकहरु आन्दोलनमा उत्रिए। कार्यालयमा तालावन्दी भयो। अहिले पनि समस्याको मसाधान भएको छैन।
यी यावत प्रकरणले उनी जाँदाजाँदै चर्चा कमाउने योजनामा लागेको प्रष्ट देखिन्छ। आफु गईसकेपछिको अवस्थामा ‘जे सुकै होस’ भन्ने मानसिक्ताबाट प्रेरित भएर काम गरेको त होईन ? भनेर शंका गर्ने सुविधा सर्वसाधारणलाई छ।
बुबाले २० वर्षदेखि अलपत्र पारेको छात्राबास बनाउन खोई अभियान ?
अर्कोतर्फ उनको विगतले पनि उनी समाजसेवा र जनताको लागि मरिहत्ते गर्दैछन् भनेर विश्वास गर्ने आधार छैन। किनकी उनका बुबा शेखर सिंहले १८/२० वर्षदेखि अलपत्र पारेको मुलुककै पुरानो राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको कन्या छात्रावास भवनका विषयमा हालसम्म उनले एक शब्द बोलेका छैनन्। उनी मुख्यमन्त्री हुँदै गर्दा शीर्षखबरले ‘नवनियुक्त मुख्यमन्त्रीलाई बुबाको अधुरो काम पुरा गर्ने अवसर, बन्छ त कन्या छात्रावास?’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो।
‘गतल कामका विरुद्ध जनताका लागि अभियान चलाएको दावी गर्ने मुख्यमन्त्रीले आफनै वुबाका विरुद्ध अभियान चलाएर किन उदाहरण प्रश्तुत गर्न सकेनन्’ भन्ने प्रश्न सप्तरीमा उठिरहेको छ।
राजविराजको आफनो घर तिलाठी गापालाई भाडा लगाएर आमाका नाममा भुक्तानी
यतिमात्रै होईन, उनी तिलाठी कोईलाडी गाउँपालिकाको अध्यक्ष हुँदा आफनो राजविराजमा रहेको घरलाई समेत गाउँपालिकाको नाममा भाडा लगाएर जनताको पैसा आमाको नाममा उठाएको फेला परेको छ।
सचिवालय खर्च शीर्षकमा देखाईएको उक्त पैसा महालेखाले बेरुजु देखाएको छ। महालेखाको ०७९ (२०७८।७९०) को प्रतिवेदनमा भनिएको छ–‘गौश्वरा भौचर ३०० मिति २०७९।३।२४ राजबिराज स्थित गाँउपालिकाको अध्यक्षको सचिवालयको घर भाडा प्रति महिना रु १६५०० का दरले २०७८ श्रावण देखि २०७९ आषाढ सम्मको रु १ लाख ९८ हजार उषादेवी राजपुतनीलाइ भुक्तानी भएको छ। गाँउपालिकाको अध्यक्षको सचिवालयको भाडा भनी खर्च लेख्न पाउने आधार लेखापरीक्षणको क्रमममा पेश हुन सकेन। यसरी पालिकालाई खर्च लेख्न पाउने आधार बिना बढी व्ययभार पारी खर्च लेखेको अनियमित १९८,०००।’ उषादेवी राजपुतनी उनकी आमा हुन।
यस विषयमा मुख्यमन्त्री सिंह (तत्कालिन अध्यक्ष) भने तिलाठीमा कार्यालय नभएका कारण राजविराजमा कार्यालय राखेको वताउँछन्। उनी भन्छन्– ‘सचिवालय खर्च होइन। कार्यालय तिलाठीमा थिएन। बस्न र काम गर्नको लागि घर भाडामा लिएको थियोे। पछि कार्यालय तिलाठी सर्दा विपत तथा स्वास्थ र अन्य सामान राख्ने प्रयोगमा राखेको थियोे।’
ढुलमुले राजनीति
यसैगरी, उनको राजनीति पनि ढुलमुले देखिन्छ। उनी फाईदाको लागि जतापनि ढल्किन सक्छन् भन्ने उदाहरण हो– जसपाबाट गाउँपालिका अध्यक्ष हारेपछि रातारात जनमतमा प्रवेश गरी प्रदेशको चुनाव लड्नु।
सिंह सप्तरी २ को (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी २०७५ को स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए। त्यसपछि पार्टी एकिकरणका क्रममा जसपा बन्यो। ०७९ मा भएको स्थानीय तह निर्वाचनमा फेरी सोही गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवार बने। तर, पराजित भए। त्यसपछि सीके राउतको लहर चलिरहेका बेला जनमतको उम्मेदवार भई प्रदेशसभा सदस्य निर्वाचित भएका हुन।
उनका बुबा शेखर सिंह भने एमालेसँगको तालमेलमा लोसपाबाट राष्ट्रियसभामा निर्वाचित भएका हुन । शीर्ष खबरबाट
प्रकाशित मिति: २०२५-०२-२५ , समय : २१:४६:१८ , 1 month अगाडि