मधेस प्रदेश : अबैध लागुऔषध चरेससहित तीनजना युवक पक्राउ

मिति: २०२५-०२-२१ , समय : १७:१५:५८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको पर्सा प्रहरीले पछिल्लो एक सातामा तीनजनालाई प्रतिबन्धित लागुऔषध चरेससहित पक्राउ गरेको छ। प्रहरीले वीरगन्जका विभिन्न स्थानबाट एक साताको अवधिमा एक महिला र दुई पुरुष गरी तीनजनालाई पक्राउ गरेको हो।

नेपालबाट वीरगन्ज भएर सीमावर्ती भारतमा जाने क्रममा महानगरपालिकाको सीमानाकाबाट उनीहरू पक्राउ परेका पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए।

फागुन ७ मा पर्सा प्रहरीले वीरगन्जबाट बारा प्रसौनी गाउँपालिका– २ बुनियाद घर भई वीरगन्ज महानगरपालिका– १६ बसपार्कमा डेरा गरी बस्ने ३० वर्षीया आरती देवीलाई पक्राउ गरेको हो। प्रहरीले राति ८ बजे वीरगन्ज– १६ शंकराचार्य गेटनजिकै उनले बोकेको झोलामा रातो रङको ग्यालेनभित्र प्लास्टिकमा स–साना पोकामा लुकाइछिपाई राखिएको ११ किलो चार सय ग्राम चरेस फेला परेको थियो।

सोही दिन वीरगन्ज– १६ शंकराचार्य गेटनजिकैबाट चरेस र गाँजाजस्तो देखिने पदार्थसहित प्रहरीले अर्का एक युवकलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा भारत बंगाल जिल्ला नदिया थाना बधकुल्ला बजार कोलनीका– २८ वर्षीय राज अधिकारी रहेका छन्। उनको साथबाट ६ किलो ३ सय ग्राम गाँजा र दुई किलो एक सय ग्राम चरेस बरामद भएको प्रवक्ता प्रहरी नायब उपरीक्षक भट्टले बताए। उनका अनुसार अधिकारीले बोकेको क्यामो ब्यागभित्र सानोसानो पोकामा लुकाइछिपाई राखिएको गाँजा बरामद भएको थियो।

यस्तै, फागुन ७ मा प्रहरीले शुक्रबार वीरगन्जबाट सर्लाहीको विष्णु गाउँपालिका– ४ मधुवन गोठका ४५ वर्षीय सुधीर कर्ण लागुऔषध चरेससहित पक्राउ परे। शुक्रबार बिहान १० बजेको समयमा अस्थायी प्रहरी पोस्ट इनर्वाबाट खटिएको प्रहरी टोलीले उनलाई वीरगन्ज– १६ स्थित सडकबाट १२ किलो चरेससहित पक्राउ गरेको हो।

जानकारहरूका अनुसार नेपालमा प्रतिबन्धित लागुऔषध पहाडका जिल्लाबाट विभिन्न माध्यममार्फत तस्करी भएर सीमानाकाका जिल्लामा पुर्‍याउने गरिन्छ। पटकपटक ल्याएर एक ठाउँमा जम्मा गरेपछि भरियामार्फत भारतका विभिन्न स्थानमा पठाउने गरिन्छ। नयाँ पत्रिका

प्रकाशित मिति: २०२५-०२-२१ , समय : १७:१५:५८ , 1 month अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित