समाचारको विषय लिएर पत्रकार शर्मामाथि प्रहरीमा अभद्र व्यवहारको उजुरी
मिति: २०२५-०१-२५ , समय : २०:००:४८ , गामघर डेस्क
मिति: २०२५-०१-२५ , समय : २०:००:४८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीमा समाचारको विषय लिएर पत्रकार दिनेश शर्मा विरुद्ध प्रहरीमा अभद्र व्यवहारको उजुरी परेको छ । पत्रकार शर्माले शनिबार आफुविरुध्द प्रहरीमा उजुरी परेको भन्दै नेपाल पत्रकार महासंघ सप्तरीमा निवेदन दर्ता गराएपछि उक्त घटना सार्वजनिक भएको हो ।
पत्रकार शर्माले नेपाल पत्रकार महासंघ सप्तरीमा निवेदन दिर्दै आवश्यक पहल गरिदिन आग्रह गरेका हुन् । उहाँले महासंघमा दिएको निवेदनमा समाचार लेखेको विषयमा इलाका प्रहरी कार्यालय कंचनपुरमा आफू विरुद्ध अभद्र व्यवहारको उजुरी परेको उल्लेख छ ।
जनमत पार्टीका नेता शिवनन्दन महतोले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा अभद्र व्यवहारको उजुरी दिएको र प्रहरीले सोमबार हाजिर हुन फोनबाटै जानकारी गराएको पत्रकार शर्माले महासंघमा दिएको निवेदनमा उल्लेख गरेको छ ।
जनमत पार्टीका अध्यक्ष सीके राउत र श्रीमती सोनी सिन्धु रानीसँग सम्वन्ध विच्छेद प्रकरणको समाचार लेखेको विषयमा आफुलाई समाचार नलेख्न दवाव दिने समुहले उजुरी दर्ता गरेको पत्रकार शर्माको निवेदनमा उल्लेख गरेको छ ।
‘जनमत पार्टीका अध्यक्ष सीके राउत र श्रीमती सोनी सिन्धु रानीसँग सम्वन्ध विच्छेदका प्रकरण सार्वजनिक भएपछि त्यो विषयमा समाचार लेखेको सप्तरी जिल्लाबाटै निर्वाचित सांसद र स्थानीयवासी समेत भएको नाताले यहाँका नागरिकका लागि त्यो आम चासोको विषय हो भन्ने मान्यताका आधारमा फलोअप समाचार पनि लेखें’, पत्रकार शर्माले दिएको निवेदनमा भनिएको छ,। उहाँले आफनो जिल्लाबाट निर्वाचित सांसद त्यसमाथि एउटा पार्टीको राष्ट्रिय अध्यक्षका गतिविधिका बारेमा सर्वसाधारणलाई अपडेट गराउनु पत्रकारको धर्म भएर समाचार लेखेको निवेदनमा उल्लेख छ ।
यसैक्रममा करिव एक साता अघि सप्तकोशी नगरपालिकातिरकै ठेकेदार उमेश दास, जनमत पार्टीका केन्द्रीय सदस्य एवम् गत प्रदेश सभा निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नं. १ (क) का उम्मेदवार शिवनन्दन महतोसहित ४÷५ जना ब्यक्तिले सीके राउतको समाचारको प्रसंग उठाएर उनीहरुले आईन्दा जनमत पार्टी र सीके राउतसँग सम्वन्धित समाचार नलेख्न निर्देशन दिएको निवेदनमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष एवम् सल्लाहकार वैद्यनाथ यादवलाई प्रहरीले पक्राउको समाचार लेखें पछि शिवनन्दन महतोले ‘समाचार नलेख्ने भनेपछि फेरी किन लेखेको’ भन्दै फोनमै धम्क्याउनुको साथै वादविवाद भएको थियो। सोही विवादको विषयमा जनमत पार्टीका नेता शिवनन्दन महतोले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा अभद्र व्यवहारको उजुरी दिएको जानकारीमा आएको छ बताउनु भयो । ‘इप्रकाका असईले मलाई फोन गरेर उजुरीको बारेमा जानकारी दिँदै सोमबार कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन्। डा. सीके राउत र उहाँका कार्यकर्ताले हप्काउने, धम्क्याउने, हतोत्साहित बनाउने र समाचार नलेख्ने वातावरण बनाउने नियोजित षडयन्त्रमा लागेको निवेदनमा भनिएको छ, । ‘पत्रकारलाई निर्धक्क समाचार लेख्न सक्ने वातावरण वनाई राख्न नेपाल पत्रकार महासंघले गम्भिर र परिणाममुखि कदम चाल्न आग्रह गरेको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका १ घर भएका पत्रकार शर्माले सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर विभिन्न राष्ट्रिय तथा स्थानीय संचार माध्यममा आवद्ध भई दुइदशकबढी समयदेखि पत्रकारिता गर्दै आएका छन् ।
प्रकाशित मिति: २०२५-०१-२५ , समय : २०:००:४८ , २ दिन अगाडि