अकूत सम्पत्तिमा इञ्जिनियर श्रेष्ठ विरुद्ध विशेष अदालतमा मुद्दा दायर

मिति: २०२५-०१-१८ , समय : १०:३८:५१ , गामघर डेस्क

तस्बिर : फाइल फाेटाे

गामघर डेस्क

काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागमा कार्यरत तत्कालीन इञ्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। सिँचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध करिब ५ करोड रुपैयाँ बिगो कायम गरेर आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो । नीलकण्ठ नगरपालिका–३, धादिङ घर भई ललितपुरको धोबीघाट बस्दै आएका श्रेष्ठको परिवारका अन्य चार जनालाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।
आयोगले श्रेष्ठ सार्वजनिक सेवामा प्रवेश गरेदेखिको आर्जनको हिसाब किताब गरेको जनाएको छ। इञ्जिनियर श्रेष्ठ २०४६ असार ३० गते सरकारी सेवामा प्रवेश गरेका थिए। आयोगले सरकारी सेवामा प्रवेश गरेपछि २०७७ असार ३१ गतेसम्मको सम्पत्तिको विषयमा अध्ययन गरेको थियो।वैधानिक रुपमा श्रेष्ठले ११ करोड २५ लाख ६५ हजार १ सय ९९ रुपैयाँ बराबरको आर्जन गरेको पाइएको छ। यस्तै, १६ करोड १३ लाख ९५ हजार ५ सय २८ रुपैयाँ बराबर लगानी एवम् खर्च गरेको पाइएको छ।४ करोड ८८ लाख ३० हजार ३ सय २९ रुपैयाँ बराबरको रकमको वैधानिक स्रोत नखुलेको आयोगले जनाएको छ। सार्वजनिक सेवामा रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको र अस्वाभाविक जीवनयापन गरेको पुष्टि भएको आयोगको ठहर छ।

गैरकानुनी सम्पत्ति परिवारका नाममा लगेर लुकाएको देखिएको भन्दै अख्तियारले सम्पत्ति जफत प्रयोजनका लागि श्रेष्ठकी श्रीमती लक्ष्मीकुमारी, छोरा विवेक, बुबा हरिकुमार र आमा इन्द्रकुमारी श्रेष्ठलाई प्रतिवादी बनाएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।२०४६ साउन १ मा सबइन्जिनियरबाट सार्वजनिक सेवामा प्रवेश गरेका श्रेष्ठले २०७७ साउन १ मा अनिवार्य अवकाश पाएका थिए । यस अवधिमा उनी १६ वटा सरकारी कार्यालयमा कार्यरत थिए । उनी २०६४ चैत ५ मा अधिकृत तृतीय तहमा बढुवा भएका थिए । सरकारी सेवामा रहँदा श्रेष्ठले आफू र परिवारका सदस्यका नाममा गैरकानुनी सम्पत्ति व्यवस्थापन गरेको अदालतमा दायर मुद्दामा छ।
श्रेष्ठले गैरकानुनी रूपमा आर्जित सम्पत्ति घरजग्गा तथा विभिन्न कम्पनीका सेयर खरिद, कम्पनी स्थापना, बिमालगायतमा लगानी गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।सिँचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका लागि संरचना निर्माण गर्दा ठेकेदारबाट घूस÷कमिसन लिएको, गैरकानुनी सम्पत्तिबाटै घरजग्गा, सवारीसाधन, सेयर खरिद, कम्पनी स्थापनालगायतमा लगानी गरेको र त्यस्तो सम्पत्ति परिवारका सदस्यका नाममा लुकाएको दाबीसहित २०८० भदौ ४ मा अख्तियारमा उजुरी परेको थियो । त्यसपछि २०४६ साउनदेखि २०७७ असार ३१ सम्मको उनी र परिवारका नाममा कायम चलअचल सम्पत्ति अख्तियारले अनुसन्धान गरेको थियो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार श्रेष्ठविरुद्ध भ्रष्टाचारबाट बढे÷बढाइएको सम्पत्ति पनि जफत गर्न मागदाबी गरिएको छ । सर्वोच्च अदालतबाट विगतमा भएका फैसला तथा प्रतिपादित नजिरमा भ्रष्टाचारबाट बढे÷बढाइएको सम्पत्तिलाई मूल सम्पत्ति मान्न नहुने उल्लेख छ ।
श्रेष्ठ र उनको परिवारका नाममा रहेका ७ ठाउँका घरजग्गा सबै जफत, ६ ठाउँमा आंशिक जफत र अपुग रकम भर्पाइ गर्न थप ६ ठाउँका जग्गा जफत गर्नुपर्ने अख्तियारको मागदाबी छ । धादिङ र ललितपुरमा दुई ठाउँमा रहेका घरसहित १५ ठाउँका जग्गासमेत मुद्दाको किनारा नलागेसम्म रोक्का राख्न मागदाबी छ । श्रेष्ठ र उनको परिवारका नाममा कायम ४० हजार ६ सय ५० कित्ता सेयरमध्ये ९ हजार कित्ता रोक्का राख्न माग गरिएको छ ।
श्रेष्ठ सार्वजनिक सेवा प्रवेश गरेको केही समयबाटै जग्गा किनबेचमा संलग्न भएको अनुसन्धानबाट खुलेको छ । गैरकानुनी सम्पत्ति चोख्याउन उनी विभिन्न कम्पनी स्थापनादेखि सेयर किनबेच, पारिवारिक सम्बन्ध नै नभएका मानिससँग साझेदार बनी जग्गा खरिद, बिमालगायतमा लगानी गरेको पाइएको अख्तियारले जनाएको छ ।उनका छोरा विवेकका नाममा २०७५ फागुन १ देखि अलराउन्ड कन्सल्ट्यान्ट कम्पनी सञ्चालनमा ल्याएको पाइएको छ । पत्नी लक्ष्मीकुमारीका नाममा ललितपुरमै बेस्ट सोलुसन प्रालि कम्पनी २०७४ चैत १६ बाट सञ्चालन गरिएको थियो । लक्ष्मीकुमारीकै नाममा अनवार्ड कन्सल्ट्यान्ट प्रालि कम्पनी २०६५ भदौ १२ बाट सञ्चालनमा छ ।इन्जिनियर श्रेष्ठले २०५३ माघ १५ मा ललितपुरकी नानीबेटी बज्राचार्यबाट ५ आना १ पैसा जग्गा ६२ हजार ४ सय रुपैयाँ थैली कायम गरी बकसपास गरेर ल्याएका थिए । बकसपास नातासम्बन्ध खुल्नेबीच मात्रै गर्न पाइन्छ । तर श्रेष्ठ र बज्राचार्यबीच कुनै नातासम्बन्ध नखुलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । श्रेष्ठले अमेरिकन लाइफसहित विभिन्न इन्स्योरेन्स कम्पनीमा बिमा गरेको तर त्यसबापतको प्रिमियम रकमको पनि स्रोत नखुलेको अख्तियारले जनाएको छ ।
प्रवक्ता नरहरि घिमिरेका अनुसार सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४६ असार ३० देखि २०७७ असार ३१ सम्म वैधानिक रुपमा ११ करोड २५ लाख ६५ हजार १९९ रुपैयाँ आर्जन गरेको, तर उनको कमाई यसै अवधिमा १६ करोड १३ लाख ९५ हजार ५२८ रहेको पाइएको छ ।उनले सार्वजनिक सेवामा रहँदा कमाएको जम्मा र वैधानिक रुपमा कमाएको रकमको हिसाबकिताब गर्दा ४ करोड ८८ लाख ३० हजार ३२९ रहेको छ ।

प्रकाशित मिति: २०२५-०१-१८ , समय : १०:३८:५१ , १५ घन्टा अगाडि