पुनः ६० लाख धराैटीमा रिहा भए रवि लामिछाने

मिति: २०२५-०१-१५ , समय : १८:२८:०१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । काठमाण्डौ जिल्ला अदालतले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो । बहस सकिएपछि अदालत परिसरबाहिर सहकारी पीडितका एक वकिल दिनेश त्रिपाठीमाथि हातपात भएको भिडियो सार्वजनिक भएको भियो ।

यसअघि कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटी लिएर पुर्पक्षका लागि तारिखमा राख्न आदेश दिएपछि पुस २५ गते हिरासतमुक्त भएका लामिछाने २८ गते काठमाण्डौ जिल्ला अदालतमा उपस्थित भएका थिए ।

कास्कीमा लामिछानेविरुद्ध पोखरामा रहेको सूर्यदर्शन सहकारी संस्थाको बचत रकम दुरुपयोगसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अहिले पनि विचाराधीन छ । काठमाण्डौमा लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन र सङ्गठित अपराधसम्बन्धी मुद्दा परेको छ । लामिछानेविरुद्ध सहकारी सदस्यहरूकाे एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ बचत रकम अपचलन गरेको आरोप छ ।

लामिछानेमाथि कास्की र काठमाण्डौबाहेक रुपन्देही, चितवन र पर्सामा पनि सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी अनुसन्धान चलिरहेको छ । ती जिल्लाहरूमा पनि लामिछानेविरुद्ध चाँडै अभियोगपत्रहरू दर्ता हुने सम्बन्धित जिल्लाका सरकारी वकिल कार्यालयहरूले जनाएका छन् ।

प्रकाशित मिति: २०२५-०१-१५ , समय : १८:२८:०१ , ३ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित