मधेस प्रदेश : जङ्गली हात्तीले घर भत्काउन थालेपछि स्थानीय बासिन्दा त्रसित

मिति: २०२५-०१-१० , समय : १२:५३:४५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, वृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडाका मकैबारी, केराबारी, आलुबारी, गहुँबारीमा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन् ।

अघिल्ला वर्षमा केही दिन आएर बसेर जाने जङ्गली हात्ती यस वर्ष भने असारदेखि नै यसै क्षेत्रमा बसेर उपद्रो मच्चाइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

हात्तीले घर नै भत्काउन थालेका छन् । हात्तीको बथानले चन्द्रपुर नगरपालिकामा आठ र फतुवा विजयपुर नगरपालिका–११ मा चार वटा घर भत्काएको छ । हात्तीले चन्द्रपुर–३ गैँडाटारमा सात र वडा नम्बर २ जुडिबेलामा एउटा घर भत्काएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

हात्तीले बढीजसो केराबारी नष्ट गरेको पाइएको छ । हात्तीको बथानले रौतहटको चन्द्रपुर–३ गैँडाटार र चन्द्रपुर ३ जुडिबेलामा लगाइएको केराखेतीमा क्षति पुर्‍याएको छ ।

हात्तीले पटक–पटक गरेर झन्डै एक बिघामा लगाएको केराखेती नष्ट गरेको चन्द्रपुर–३ गैँडाटारका किसान लालबाहादुर दोङले जानकारी दिनुभयो । फल्ने बेला भएको झन्डै सात सय केराको बोट नष्ट गरेको उहाँको गुनासो छ ।

यसैगरी चन्द्रपुर–३ गैँडाटारमा पनि हात्तीले केराबारीमा विध्वंश मच्चाएको छ । यो गाउँका हरिशरण गौतमको १३ कट्ठामा लगाएको चार सय बोट, दीपक गौतमको ८५ बोट, सम्पूर्ण चौहानको दुई सय ५० बोट र अनिल भण्डारीको ५० बोट केरा नष्ट गरेको स्थानीय बासिन्दा दीपक गौतमले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: २०२५-०१-१० , समय : १२:५३:४५ , ५ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्