कोशी प्रदेश : हाडनाता करणी मुद्दाका कैदीको मृत्यु
मिति: २०२५-०१-०४ , समय : १९:०८:४८ , गामघर डेस्क
मिति: २०२५-०१-०४ , समय : १९:०८:४८ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । कोशी प्रदेशको मोरङको बेलबारी घर भएका एक जना वृद्ध कैदीको शनिबार दिउँसो मृत्यु भएको छ ।बेलबारी नगरपालिका–४ का ६७ वर्षीय अम्मरबहादुर राईको मृत्यु भएको हो । राई विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका कैदी हुन् । उनी हाडनाता करणी मुद्दामा दोषी ठहर भएका थिए ।मोरङ कारागारका जेलर गौरव ढुंगेलले श्वासप्रश्वासमा समस्या भएपछि राईलाई उपचारका लागि दिउँसो २ः१५ बजेतिर कोशी अस्पतालमा भर्ना गरिएको जानकारी दिए । उपचारकै क्रममा दिउँसो ३ः५० बजेतिर चिकित्सकले मृत घोषित गरेको उनको भनाइ छ ।
जिल्ला अदालत मोरङले राईविरुद्ध दर्ता भएको हाडनाता करणी मुद्दाको फैसला २०७३ साल माघ ९ गते गरेको थियो ।मुद्दाको फैसला गर्दै अदालतले उनलाई १४ वर्ष कैद सजाय सुनाएको थियो । राईलाई प्रहरीले २०७३ जेठ ६ गते पक्राउ गरेर अनुसन्धान एवं कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको थियो ।
अदालतको फैसला अनुसार सजाय भुक्तान गरिरहेका बेला अचानक बिरामी परेका राईको अस्पताल पुर्याएको केहीबेरमै मृत्यु भएको जानकारी जेलर ढुंगेलले दिए । अदालतको फैसला अनुसार राईले २०८७ साल जेठ ५ गतेसम्म कैद भुक्तान गर्नुपर्ने हुन्थ्यो ।राईको शव कोशी अस्पतालमै रहेको र परिवारका सदस्यले आइतबार बुझ्ने जानकारी दिएको जेलर ढुंगेलको भनाइ छ ।मोरङ कारागारमा क्षमताभन्दा बढी राखिएका कारण कैदीबन्दीको दैनिकी निक्कै सकसपूर्ण बनिरहेको छ । कैदीबन्दीलाई बस्ने, खाने र सुत्ने ठाउँको अभाव छ ।महिला र पुरुष गरेर ३ सय जना क्षमताको कारागारमा हाल एक हजार एक सय १० जना कैदीबन्दी रहेको ढुंगेलले बताए ।उनका अनुसार कारागारमा हाल पाँच जना आश्रित बालबालिका, एक सय दुई जना महिला र एक हजार तीन जना पुरुष छन् ।
प्रकाशित मिति: २०२५-०१-०४ , समय : १९:०८:४८ , ३ दिन अगाडि