सरकारले आवश्यक सेवामा हड्ताल गर्न निषेध गरिने (मन्त्रिपरिषद्का निर्णय सहित)
मिति: २०२५-०१-०१ , समय : १८:२८:२५ , गामघर डेस्क
मिति: २०२५-०१-०१ , समय : १८:२८:२५ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । सरकारले आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने भएको छ । बुधबार मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले यसबारे जानकारी दिनुभएको हो ।
सरकारले हड्ताल निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताउनुभयो ।
यस्तै सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त रहेको कार्यकारी निर्देशक पदमा बाजुराका छत्रबहादुर कटुवाललाई नियुक्त गरेको छ । मन्त्री गुरुङले पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने निर्णय भएको पनि बताउनुभयो ।
मन्त्री गुरुङले नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौंमा सरुवा गर्ने निर्णय गरेको पनि बताउनुभयो ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू :
१. महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।
२. प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउन स्वीकृति दिने ।
३. प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्वन्धी ९पहिलो संशोधन० कार्यविधि, २०८१ स्वीकृत गर्ने ।
४. फिलिपिन्समा आयोजना हुने फेस टु फेस मिटिङमा २०८१ साल पुस २८ देखि माघ २ गतेसम्म नेपाल राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारीको नेतृत्वमा रहेको १३ सदस्यीय नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
५. पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने ।
६. विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा श्री छत्रबहादुर कटुवाल, बाजुरालाई नियुक्त गर्ने ।
७. आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।
८. नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक श्री टेकबहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौंमा सरुवा गर्ने ।
९. नेपाल सरकारको नाममा दर्ता रहेको बाजुरा जिल्ला बुढीगंगा नगरपालिका वडा नं. ६ को १७२५ वर्गमिटर सरकारी प्रकृतिको जग्गा बुढीगंगा नगरपालिकाको प्रशासकीय भवन निर्माणार्थ बुढीगंगा नगरपालिका, बाजुरालाई उपयोग गर्न स्वीकृति दिने ।
१०. जिल्ला समन्वय समिति कैलालीको नाममा दर्ता रहेको धनगढी उपमहानगरपालिका वडा नं. १ को २७१८ वर्गमिटर जग्गा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापनाका लागि धनगढी उपमहानगरपालिका, कैलालीलाई उपयोग गर्न स्वीकृति दिने ।
११. हिल्सा–सिमिकोट सडकको सल्लिसल्ला–सिमिकोट खण्डको कडा चट्टान रहेको ८०० मिटर लम्बाइको सडक निर्माण र चुवा खोलामा बेलीब्रिज निर्माणको कार्य नेपाली सेनाबाट गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने ।
१२. राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा श्री ध्रुव आचार्य, रूपन्देहीलाई नियुक्त गर्ने ।
१३. अप्पर देउमाई खोला साना जलविद्युत आयोजना निर्माणको लागि इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका तथा देउमाई नगरपालिकामा रहेको राष्ट्रिय वनको ४.८२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।
१४. कानेपोखरी गाउँपालिका मोरङको केन्द्र वडा नं. ६ वयरवनलाई परिवर्तन गरी वडा नं. ५ भौसाबारी कायम गर्ने ।
१५. खानेपानी तथा सरसफाई नियमावली, २०८१ स्वीकृत गर्ने ।
१६. निकासी पैठारीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने ।
१७. राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने ।
१८. विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ स्वीकृत गर्ने। ।
१९. ऊर्जा विकास मार्गचित्र, २०८१ स्वीकृत गर्ने ।
२०. वाणिज्य नीति, २०८१ स्वीकृत गर्ने।
प्रकाशित मिति: २०२५-०१-०१ , समय : १८:२८:२५ , ६ दिन अगाडि