सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि
सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना दर्ता
मिति: २०२५-०१-०१ , समय : १६:२४:१४ , गामघर डेस्क
मिति: २०२५-०१-०१ , समय : १६:२४:१४ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौँ । सन् २०२४ मा प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष भएको नेपाल पत्रकार महासंघले जनाएको छ । समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाको तथ्यांक सार्वजनिक गरिएको हो । नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखामा सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना दर्ता भएका छन् । विगतका वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हनननका घटना वृद्धि भएको महासंघले जनाएको हो ।
सन् २०२३ मा प्रेस स्वतन्त्रता हननका ५८ र सन् २०२२ मा ५३ वटा घटना दर्ता भएको थियो । यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना हुँदा ३४ जना पत्रकार महिला र ११३ जना पुरुष पत्रकार पीडित भएका छन् भने १३ वटा सञ्चार संस्था प्रभावित भएका छन् ।
राष्ट्रिय दलित पत्रकार संघ, कैलालीका सहसचिव सुरेश भुलको हत्या भएको घटनाको प्रारम्भिक रिपोर्ट हेर्दा उक्त घटना लक्षित हत्या भएको पाइएको छ । समाचार लेखेकै कारण ज्यान लिनेसम्को धम्की खेपिरहेका इटहरीका पत्रकार गोपाल दाहालका सम्बन्धमा महासंघले मिडिया मिसन खटाएको थियो ।
समाचार लेखेकै कारण राज्यको नेतृत्व तहमा रहेका तथा जनताको प्रतिनिधि भनिएकाबाट पत्रकारमाथि भएको धम्की, धरपकड तथा दुर्व्यहारबाट घटना अत्यन्त निन्दनीय मात्र नभएर लोकतन्त्रमाथिकै प्रहार भएको महासंघको ठहर छ ।
सन् २०२४ मा नेपाली प्रेस जगतले अपेक्षाकृत प्रेससम्बन्धी कानुन पाउन नसकेको, लामो सयमदेखि प्रतीक्षारत मिडिया काउन्सिल विधेयकले पूर्णता नपाएको महासंघले जनाएको छ । यसबीचमा सरकारले सूचना प्रविधि विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको भन्दै महासंघले विगतदेखि नै सञ्चारसम्बन्धी कानूनलाई व्यवस्थित गर्न र संविधानको मर्मअनुसार कानून निर्माण गर्न सरकारलाई आग्रह गर्दै आएको जनाएको छ ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको भौतिक तथा व्यावसायिक सुरक्षामा प्रतिबद्ध रहेको जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्का घटनामा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको माग गरेको छ ।
प्रकाशित मिति: २०२५-०१-०१ , समय : १६:२४:१४ , ६ दिन अगाडि