एनपिएलको विजेता टिम जनकपुर बोल्ट्सलाई सिराहामा अभिनन्दन : राजविराजमा कुर्सी तोडफोड

मिति: २०२४-१२-३० , समय : २०:२५:३७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको राजविराज नगरपालिकाले सोमबार आयोजना गरेको कार्यक्रममा तोडफोड भएको छ। सोमबार साँझ राज रंगशालामा जनकपुर बोल्ड्सका खेलाडीका लागि आयोजित सम्मान कार्यक्रममा कुसी तोडफोड भएको हो।

खेलाडीलाई हेर्न आएका दर्शकले खेलाडीभन्दा राजनीतिक भाषण धेरै भएको भन्दै कुर्सी तोडफोड गरेका हुन्। तोडफोडपछि प्रहरी र दर्शकबिच सामान्य विवाद र ठेलामठेल पनि भएकाे छ। यता नेपाल प्रिमियर लिग (एनपिएल) फस्ट सिजनको विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीलाई सोमबार सिराहामा भव्य स्वागत तथा अभिनन्दन गरिएको छ। एनपिएल च्याम्पियन ट्रफीसहित सिराहा आएका खेलाडीहरूलाई जिल्ला सदरमुकाम सिराहामा सम्मान तथा अभिनन्दन गरिएको हो।

पूर्व-पश्चिम लोकमार्ग हुँदै सिराहा प्रवेश गरेको टिमलाई जिल्ला प्रवेश विन्दु कर्जन्हा नगरपालिका–३ बन्दीपुरमा नगरपालिकाले स्वागत तथा सम्मान गरेका छ। त्यसपछि सुरक्षाकर्मीको स्कर्टिङमा जिल्ला सदरमुकाम सिराहा पुगेपछि विजय र्‍याली गरी जिल्ला प्रहरी कार्यालयअगाडि रहेको पार्कमा नगरप्रमुखसहित सर्वसाधारणले स्वागत तथा अभिनन्दन गरेको हो।

६ पुसमा त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्स एनपिएलको फर्स्ट सिजन विजेता बनेपछि मधेश प्रदेशको राजधानी जनकपुरसहित प्रदेशअन्तर्गतका जिल्लाहरूमा स्थानीयस्तरमा सर्वसाधारण र स्थानीय तहहरूले भव्य स्वागतसहित अभिनन्दन गरिरहेका छन्।

प्रकाशित मिति: २०२४-१२-३० , समय : २०:२५:३७ , १ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित