बिरामीको घर पुगेर लुटपाट गर्ने नक्कली डाक्टर मण्डल पक्राउ
मिति: २०२४-१२-२८ , समय : ०७:४४:३० , गामघर डेस्क
मिति: २०२४-१२-२८ , समय : ०७:४४:३० , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । उपचारको बहानामा बिरामीको घर पुगर लुटपाट गर्ने नक्कली डाक्टर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मधेस प्रदेशको महोत्तरीको जलेश्वर नगरपालिका–२ हरिटोल घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्काे बस्ने ३० वर्षीय डा. आलोक भन्ने जीतेन्द्र मण्डल रहेका प्रहरीले जनाएको छ । मण्डललाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ आरुखर्कबाट पक्राउ गरेको हो ।
उनको साथबाट ५९ हजार तीन सय ६० रुपैयाँ र मोबाइल तीन थान बरामद गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार पीडित व्यक्ति मधुमेहका रोगी थिए । उनी सामाजिक सञ्जाल फेसबुकमार्फत नक्कली डाक्टर मण्डलसँग साथी बने । मण्डलले आफू डाक्टर हुँ भनी भेटघाट एवम् चिनजान गरी उपचार गर्ने भनेर पीडितका घरमा पुगेका थिए । उपचारका नाममा उनले बिरामीलाई बेहोश हुने औषधि खुवाई कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहना र नगद तीन लाख रुपैयाँ चोरी गरेका प्रहरीले जनाएको छ ।
यता नक्कली डाक्टर मण्डललाई अनुसन्धान एवम कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।
प्रकाशित मिति: २०२४-१२-२८ , समय : ०७:४४:३० , २ हप्ता अगाडि