भारतमा संसद् भवन परिसरमा सत्तारूढ र विपक्षी गठबन्धनका सांसदबीच झडप

मिति: २०२४-१२-१९ , समय : १९:३५:३५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

भारत ।
भारतमा संसद् भवन परिसरमा सत्तारूढ र विपक्षी गठबन्धनका सांसदहरूबीच झडप भएको छ । झडपमा भारतीय जनता पार्टी (भाजपा) का सांसद प्रतापचन्द्र सारङ्गी र मुकेश राजपुतलाई चोट लागेको पार्टीलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ ।

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले भाजपा सांसदहरूले आफूलाई संसद्मा प्रवेश गर्नबाट रोकेको र धकेलेको आरोप लगाउनुभएको छ । कांग्रेसले सत्तारूढ पार्टीका सांसदहरूले धकेल्दा आफ्ना अध्यक्ष मल्लिकार्जुन खड्गेलाई खुट्टामा चोट लागेको बताएको छ ।

भाजपा नेता तथा सङ्घीय सरकारका गृहमन्त्री अमित शाहले बाबासाहेब अम्बेडकरविरुद्ध अपमानजनक टिप्पणी गरेको विषयमा सत्तारूढ दल र विपक्षी दलका नेताबीच विवाद चर्किँदा संसद् परिसरमा झडप भएको खबरमा उल्लेख छ ।

भाजपाका सांसद सारङ्गीले कांग्रेस नेता राहुल गान्धीको धक्काले आफू घाइते भएको दाबी गर्नुभएको छ । सारङ्गीले आफू सिँढीमा उभिरहेको बेला विपक्षी नेताहरूको धकेलाधकेलमा सांसदहरू आफूमाथि लडेको र यसबाट आफ्नो टाउकोमा चोट लागेको बताउनुभएको छ । घटनापछि भाजपा सांसदलाई एम्बुलेन्समा राखेर उपचारका लागि लगिएको थियो ।

कांग्रेस सांसद केसी वेणुगोपालले भाजपाका सांसदहरूले कांग्रेस नेताहरूलाई संसद्मा प्रवेश गर्नबाट रोकेको आरोप लगाउनुभएको छ ।

भाजपाले राहुल गान्धी र कांग्रेसका अन्य सांसदहरूविरुद्ध शारीरिक हिंसाको आरोप लगाउँदै उजुरी दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

प्रकाशित मिति: २०२४-१२-१९ , समय : १९:३५:३५ , ३ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित