पदस्थापनाको माग गर्दै मधेश प्रदेशअन्तर्गत पालिकाका कर्मचारीहरु आन्दोलनमा

मिति: २०२४-१२-१४ , समय : १३:४९:३० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेश प्रदेशअन्तर्गत पालिकाका कर्मचारीहरूले पदस्थापनाको माग गर्दै आन्दोलन थालेका छन् । प्रदेशअन्तर्गत पालिका तहका प्राविधिक, लेखा, राजस्व, प्रशासनलगायत विभिन्न समूहका एक सय ६० जना कर्मचारी पदस्थापनाको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरमाधमा धर्नामा बसेका छन् ।

पटकपटक लिखित तथा मौखिक रूपमा जानकारी गराए पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको कर्मचारीहरूको गुनासो छ ।

एक वर्ष अगाडि सङ्घीय लोक सेवा आयोगबाट उत्तीर्ण भई मधेश प्रदेशमा पदस्थापनाका लागि सिफारिश भएका कर्मचारीहरू कामविहीन भएपछि आन्दोलन गर्नुपरेकाे स्थानीय तह कर्मचारी आन्दोलन समितिका संयोजक वीरबहादुर सलौराले बताउनुभयो । शुरूदेखि नै पटकपटक समस्या समाधानका लागि माग गरिए पनि प्रदेश सरकारले पदस्थापना नगरेको उहाँले बताउनुभयो ।

मधेश प्रदेशमा पालिका तहका एक हजार जना कर्मचारी कार्यरत छन् । सङ्घीय लोक सेवा आयोगबाट अन्य प्रदेशमा सिफारिश भएका कर्मचारीहरूको पदस्थापना भए पनि मधेश प्रदेशका कर्मचारीहरूको पदस्थापना नभएको सलौराले भन्नुभयो । पदस्थापना नभएकाले थप सेवा सुविधासमेत पाउन समस्या भएको आन्दोलनरत कर्मचारीहरूको भनाइ छ । रासस

प्रकाशित मिति: २०२४-१२-१४ , समय : १३:४९:३० , १ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित