मधेस प्रदेशकाेे रौतहटमा स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जना यात्रुको मृत्यु

गढीमाई दर्शन गरेर फर्केकाहरू दुर्घटनामा परे

मिति: २०२४-१२-१० , समय : १०:०६:१५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । मधेस प्रदेशको रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । बालबालिकासहित ४ जना घाइते छन् ।

चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई रोडबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले जानकारी दिएका छन् ।

मृतक मध्ये अधिकांशको सनाखत हुन सकेको छैन । ‘गढीमाई दर्शन गरेर घर फर्कँदै गर्दा स्कर्पियो सडकबाट तल खसेर रुखमा ठोक्किए पछि पल्टिएको रहेछ,’ उनले भने, ‘घटना लगत्तै पुगेर घाइतेहरूको उद्धार गरी अस्पताल ल्याएका छौं । घाइते मध्ये ८ जनाको मृत्यु भएको छ ।’

घटनास्थलमा तत्कालै डीएसपी राईसहितको टोली पुगेको थियो । प्रहरीका अनुसार सिराहा अर्नमा गाउँपालिका–३ का ६० वर्षीया फुलमन्ति रामको उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै नाम थर वतन नखुलेको अन्दाजी ४५ वर्षीय स्कर्पिओ चालकको पनि उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा दुई बालबालिकासहित घाइतेको चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । एक जनालाई थप उपचारको लागि वीरगन्ज रेफर गरिएको डीएसपी राईले जानकारी दिए । मृतकका परिवारहरू आए पछि मात्र सनाखत हुने प्रहरीको भनाइ छ । यता घाइतेहरू बोल्न सक्ने अवस्थामा नभएकाले सनाखतमा समस्या भएको प्रहरीको भनाइ छ । इकान्तिपुरबाट

प्रकाशित मिति: २०२४-१२-१० , समय : १०:०६:१५ , ६ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित