विवाहपञ्चमी महोत्सवमा २० लाख जनाभन्दा धेरै दर्शनार्थी सहभागी

मिति: २०२४-१२-०७ , समय : १६:४२:५२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । श्री सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाहमण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको समयमा हजारौं श्रद्धालुको सहभागिता रह्यो ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवका अनुसार यस पटक विवाहपञ्चमी महामहोत्सवमा झन्डै २० लाख जनाभन्दा धेरै दर्शनार्थी सहभागी भए । त्रेतायुगको झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्नका लागि नेपाल, भारत र तेस्रो देशबाट हजारौं दर्शनार्थी जनकपुरधाम आइपुगेका हुन् ।

यस पटक प्रत्येक पाँच वर्षमा अयोध्याबाट आउने जन्ती पनि आएका छन् । अयोध्याबाट रामजन्म भूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत राय, अयोध्याका प्रमुख गिरिशपति त्रिपाठी, विश्व हिन्दू परिषद् केन्द्रीय मन्त्री राजेन्द्र सिंह पङ्कज सहितका व्यक्ति जन्तीमा आएका हुन् ।

जकपुरधाममा रहेकाे जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रम प्रत्येक वर्ष आयोजना हुनेगर्छ । वैवाहिक कार्यक्रमका लागि छोरीको बिहेका लागि जसरी मण्डप सजाइन्छ ठीक त्यसरी नै रामजानकी विवाहका लागि मण्डप सजाएको छ ।

जानकी मन्दिरलाई मिथिला दरबारका रूपमा लिइन्छ भने राम मन्दिरलाई अयोध्या दरबारका रूपमा लिइन्छ । जानकी मन्दिर तथा राम मन्दिरलाई विवाहपञ्चमीका लागि सिङ्गारिएको छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले छोरीकाे बिहे आयोजना गरिरहेको जस्तै अनुभव गर्ने गरेको बताउनुभयो ।

महन्त दासका अनुसार बिहेमा माता सीताको पिता राजा जनकको भूमिकामा हुन्छ । यता राम मन्दिरका महन्त बाबा राम गिरि पनि राजा दशरथको भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राख्दैनन् । उहाँले भन्नुभयो, ‘सीताजस्तो बुहारी पाउने भएपछि हर्षविभोर हुनु स्वाभाविक नै हो ।’

त्रेतायुगमा अयोध्या नरेश दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान् श्री राम र मिथिलाका शिरध्वज राजर्षि जनककी पुत्री माता जानकीको विवाह भएको स्मरणमा साताव्यापी रूपमा मनाइने विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन विधि गरिन्छ । जसमा राम लक्ष्मणको प्रतीक स्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाममा नगर दर्शन गराइन्छ ।

विवाहपञ्चमी महोत्सवको दोस्रो आकर्षण भनेको फूलबारी लिला हो । फूलबारी लीलामा राम जानकीको पहिलो भेट गराइन्छ । त्रेतायुगमा भगवान् रामको पहिलो भेट भारतको गिरिजा स्थानमा रहेको गिरिजा माई मन्दिरको प्राङ्गणमा रहेको फूलबारीमा भएको जानकार डा. राजेन्द्र विमल बताउँछन् ।

यो विधि जानकी मन्दिरकै छेउमै रहेको विवाहमण्डपको फूलबारीमा गर्ने गरिन्छ । तेस्रो दिन धनुष यज्ञ सम्पन्न हुन्छ । माता सीताले शिवजीको पिनाक धनुषलाई बाया हातले उठाएर लिपपोत गरेको देखेर राजा जनक यो धनुषमा प्रत्यंचा चढाउन सक्ने वीर पुरुषसँगै आफ्नो छोरीको बिहे गरिदिने वचन लिएर धनुष यज्ञको आयोजना गरिएको अर्का जानकार संस्कृतविद् एवम् पण्डित मुकेश प्रतिहस्तले बताउनुभयो ।

त्रेतायुगमा याे धनुष यज्ञको आयोजना रङ्गभूमि मैदान १२ बिघामा भएको जनविश्वास छ । त्यही स्मरणमा धनुष यज्ञ विधि सम्पन्न गरिन्छ । महोत्सवको चौथो दिन राम मन्दिरको प्राङ्गणमा हजाराैंको श्रद्धालुका बीच तिलकोत्सव विधि सम्पन्न हुन्छ ।

महोत्सवको पाँचाैं दिन मटकोर विधि गरिन्छ । मटकोर विधिमा माता जानकीको मटकोरका लागि मिथिलाका महिलाहरूले जनकपुरधामकै पवित्र सरोवर रहेको गङ्गासागर पोखरीबाट साँझको समयमा मिथिलाको परम्पराअनुसार गीतनाद गाउँदै माटो खनेर ल्याउने गरिन्छ । त्यही माटोबाट विवाहका लागि वेदी तयार गरिन्छ ।

छैटौं दिन ऐतिहासिक रङ्गभूमि मैदानमा स्वयंवर विधि सम्पन्न भएको छ भने शुक्रवार राति वैदिक परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिएको छ । स्वयंवरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रङ्गभूमि मैदान १२ बिघा पुग्ने गर्छ ।

स्वयंवरपछि दुवै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुग्छ जहाँ वैवाहिक कार्यक्रम हुने गर्छ । शुक्रवार राति हुने याे वैवाहिक कार्यक्रममा महिलाहरू विवाहका गीतहरू गाउने गर्छन् ।

विवाह पञ्चमी
धनुषाधाम, २१ मङ्सिरः विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज जनकपुरधामस्थित ब्राहविघा रङ्गभूमि मैदानमा मर्यादा पुरुषोत्तम भगवान श्रीराम र जनकनन्दिनी माता सीताको स्वयम्बर हेर्ने भक


विवाहपञ्चमीको सातौं दिन भारतको अयोध्याबाट जन्तीका रूपमा आएका साधुसन्तहरूलाई भोजन गराउँदै बिदाइ गरिन्छ जसलाई रामकलेवा भनिन्छ । राम कलेवामा बेहुला पक्षबाट आएकाहरूलाई गाली गर्नेसमेत परम्परा रहेको छ । मन्दिरका पुजारीहरू तथा मिथिलाका नारीहरू गीतकै माध्यमले गाली गर्ने गर्छन् जसले अद्भुत वातावरणको निर्माण गर्छ । रासस

प्रकाशित मिति: २०२४-१२-०७ , समय : १६:४२:५२ , १ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित