तस्करीको लागि सशस्त्रका सई हत्या प्रकरण : स्कर्पियो चालकको पहिचान , पक्राउ गर्न बाँकी
मिति: २०२४-१२-०६ , समय : १३:३७:१९ , गामघर डेस्क
मिति: २०२४-१२-०६ , समय : १३:३७:१९ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सई लक्ष्मणप्रसाद यादवलाई ठक्कर दिएर ज्यान लिने गाडीका चालकको पहिचान भएको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाले घटना भएपछि बढाएको अनुसन्धानका क्रममा हत्यामा भएको भएको स्कर्पियो र चालकको पहिचान भएको हो ।
सिरहाका डीएसपी वीरेन्द्र पासपानले चालकको पहिचान भएको बताए । ‘चालकको पहिचान गरेका छौं । तर पक्राउ गर्न बाँकी नै छ । हामी निरन्तर अनुसन्धानमै छौं’ डीएसपी पासवानले भने ।चालक नेपाली हुन् वा भारतीय नागरिक हुन् भन्ने पनि प्रहरीले खुलाएको छैन । यसअघि प्रहरीले सई यादवलाई ठक्क दिने स्कर्पियोको पहिचान गरेको थियो । उक्त स्कर्पियो भारतीय नम्बर प्लेटको रहेको खुलेको थियो ।स्कर्पियो पत्ता लगाएपछि उक्त स्कर्पियो कसले चलाएको थियो भन्नेबारे अनुसन्धान सुरु भएको थियो । जसक्रममा चालकको पहिचान भएको प्रहरीले जनाएको छ । भारतीय नम्बर प्लेटको स्कर्पियो खुलेपछि सिरहा प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।
सिरहाको बरियापट्टी गाउँपालिका–१, कचनारी छोट्की टोलस्थित सीमा इलाका बोर्डर आउट पोस्ट(बीओपी) बाट सई यादवको कमाण्डमा गस्ती टोली खटिएको थियो । यो बीओपी प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा मातहत पर्छ ।यादवको कमाण्डमा पाँच जनाको गस्ती टोलीले आइतबार बिहान ३ बजेर १० मिनेट जाँदा स्कर्पियो गाडीमा मदिरा तस्कर भएको देखेको थियो । मोटरसाइकलमा गस्ती रहेको सई यादवको टोलीले नेपाल प्रहरीसमेतको संयुक्त टोलीले उक्त गाडीलाई पछ्याएको थियो ।
सो क्रममा मदिरा तस्कर समूहको स्कर्पियोले सई यादवलाई ठक्कर दिएर भारततर्फ फरार भएको थियो । स्कर्पियोको ठक्करबाट गम्भीर घाइते भएका सई यादवलाई नेपाल रेडक्रस सोसाइटी कचनारी उपशाखाको एम्बुलेन्समा राखी ३:४५ बजे प्रादेशिक अस्पताल लहान पुर्याइएको थियो । अस्पताल पुर्याएको १५ मिनेटपछि ४ बजे नै सई यादवको मृत्यु भएको थियो ।
४८ वर्षीय सई यादव सिरहाकै नरहा गाउँपालिका–४ ललभितियाका स्थानीय हुन् । सई यादवको मृत्यु भएपछि अनुसन्धान अघि बढाएको सिरहा प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । अहिले पनि उनीहरुमाथि अनुसन्धान जारी रहेको डीएसपी पासवानले बताए ।पक्राउ परेका दुबै जना नेपाली हुन् । उनीहरुमाथि अनुसन्धान भइरहेको र अहिले नै संलग्नता रहे÷नरहेको भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-१२-०६ , समय : १३:३७:१९ , १ हप्ता अगाडि