विचित्र संसार : जिउँदोमा नै ८१ वर्षीया वृद्धाले गाउँलेलाई खुवाइन् आफ्नै मृत्युभोज !

आफ्नो ‘मृत्युभोज’ गरेकी सिराहाको औरही गाउँपालिका– ४, इँटाटारकी ८१ वर्षीया श्रीवती यादव

मिति: २०२४-१२-०३ , समय : ०७:३१:५८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

लहान ।
कसैको मृत्युपछि अन्तिम संस्कार सकाइवरी परिवारले आफन्त तथा छरछिमेकलाई भोज खुवाउनु चलिआएकै परम्परा हो । तर, सिराहामा ८१ वर्षीया वृद्धाले भने आफू जिउँदो छँदै गाउँले बोलाएर आफ्नै मृत्युभोज खुवाएकी छिन् । औरही गाउँपालिका– ४, इँटाटारकी वृद्धा श्रीवती यादवले सोमबार गाउँलेलाई बोलाएर दुई क्विन्टल चामलको मृत्युभोज खुवाएकी हुन् । वर्षौँअघि श्रीमान् गुमाएकी श्रीवती एकल महिला मात्रै होइन, घरमा पनि एक्लै छिन् । उनका दुई छोरी पनि लामो समयदेखि सम्पर्कमा छैनन् ।

आफ्नो मृत्युपछि गाउँलेलाई भोज खुवाइदिने कोही नभएकाले जिउँदो छँदैमा उक्त कर्म सकाएको श्रीवतीले बताइन् । यस्तो भोज त कतै भएको छैन नि भनेर सोध्दा उनले जवाफ फर्काइन्, ‘यो कुरा त गाउँ, समाजले जान्लान् ।’ आफ्नो मृत्युभोज खान आउनेहरूलाई वृद्धा आफैँ सक्रिय भएर स्वागत गर्दै थिइन् ।

आफूले जीवनकालमा गाउँका प्रायः सबै घरमा गएर खाएको र बिरामी पर्दा गाउँलेहरूले नै सहयोग गरेकाले त्यसको भार बोकेर नमर्ने भन्दै वृद्धाले मृत्युभोज खुवाएको वडाध्यक्ष सुरेन्द्रप्रसाद यादवले बताए । भोजमा लाग्ने रकमले वडा कार्यालयपरिसरमा उनको सालिक बनाइदिने वा स्थानीय सामाजिक संघसंस्थालाई सहयोग गर्न आग्रह गरे पनि वृद्धाले अस्वीकार गरेको उनको भनाइ छ । उनको अडानलाई एक साताअघि स्थानीय अगुवाहरूको छलफलले पनि अनुमोदन गरेको यादवले बताए । नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २०२४-१२-०३ , समय : ०७:३१:५८ , २ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित