नसा च्यापिएर दुई महिनादेखि थला परेका विपन्न रूपेश सदाको उपचारमा सहयोगको आग्रह
मिति: २०२४-११-२६ , समय : ०९:०८:५९ , गामघर डेस्क
मिति: २०२४-११-२६ , समय : ०९:०८:५९ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
मजदुरीका क्रममा लडेर गम्भीर घाइते भएका सप्तरी राजविराज नगरपालिका वडा न.६ दलित बस्तीका २७ वर्षीय रूपेश सदा आर्थिक अभावले उपचार गराउन नसक्दा दुई महिनादेखि ओछ्यान परेका छन्। घरको मुली नै ओछ्यान परेपछि उनको पाँचजनाको परिवार बिहान बेलुका के खाऊँ भन्ने अवस्थामा पुगेको छ।
उपचार सम्भव भए पनि आर्थिक अभावका कारण रूपेशले उपचार पाउन सकेका छैनन्। नसा च्यापिएर हिँडडुल गर्न नसक्ने उनी घरमै थलिएर बसेका छन्।
दुई महिनाअघि ढलानको काम गर्ने क्रममा टाउकोमा सिमेन्टको बोरा बोकेर लैजाँदै गर्दा अचानक लडेर अचेत भएका थिए। सो क्रममा टाउको, घाँटी र ढाडमा चोटका साथै उनको घाँटी र ढाडको नसा च्यापिएको थियो। जसकारण उनी हिँडडुल गर्न नसक्ने भएका छन्।
रूपेशको उपचारमा गर्न मजदुरी पेसामा मै संलग्न उनकी श्रीमती रम्भाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएकी थिइन्। त्यहाँ पाँच दिनको उपचार र बसाइमा भएकाे एक लाख १० हजारमध्ये एक लाख पाँच हजार खर्च गरिन्। तर, निको नभएको र चिकित्सकले, अपरेसन गर्नुपर्छ भन्दै थप एक लाख ५० हजार रुपैयाँ व्यवस्था गर्नू भनेपछि थप उपचार नै नगरी फर्केको उनले बताइन्।
वडा कार्यालयबाट केही सहयोग तथा साहुमहाजनसँग ऋण सापटी खोजेर उपचारका लागि धरान गएकी उनी पछि आर्थिक अभावकै कारण उपचारविनै घर फर्केको बताउँछिन्। उनले भनिन्, ‘जीवन मरणको दोसाँधमा रहेका श्रीमानको उपचार, तीनजना नाबालक सन्तानको लालनपालनमा समस्या भएको छ।’ श्रीमान् थला परेपछि तीन सन्तानसहित पूरै परिवारले मुस्किलले दुई छाक टारिरहेको उनको भनाइ छ। उनले आँसु झार्दै भनिन्, ‘थप उपचार गराउन कहाँ लानू? पैसा नभएपछि श्रीमानको मृत्यु पर्खिनुबाहेक विकल्प छैन।’
सडककिनारमा दुई धुर ऐलानी जग्गामा फुसको झुप्रो बनाई बसोबास गर्दै आएका सदा परिवारको अवस्था निकै कमजोर रहेको वडाध्यक्ष शशी चौधरीले बताए। उनले भने, ‘यो परिवारको नाममा एक धुर जग्गा पनि छैन। वडाबाट जेजसो सकिन्छ सहयोग गरे। अब सबै मिलेर सहयोग गर्नु पर्यो। नयाँ पत्रिका
प्रकाशित मिति: २०२४-११-२६ , समय : ०९:०८:५९ , ३ हप्ता अगाडि