भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

मिति: २०२४-११-२४ , समय : १०:३५:५५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सुनसरी । भारतमा उत्पादित तरकारी नेपाली बजारमा आउने र सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । स्वदेशमा हुने तरकारीको उत्पादनमा लागत धेरै लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारीभन्दा केही महँगो पर्ने गर्छ । भारतमा सस्तोमा बीउ तथा मलखाद पाउने भएकाले उत्पादन लागत कम हुँदा त्यहाँबाट आउने तरकारी सस्तो हुने गरेको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले ५० हजार रुपैयाँ लागतमा तरकारीखेती गर्नुभएको छ । तीन कठ्ठामा उहाँको बन्दागोभी छ । तर उचित मूल्य पाउन भने समस्या भएको उहाँको गुनासो छ । काम गर्ने मजदुर, मलखाद, बीउबिजनदेखि सिँचाइसम्म महँगो पर्ने भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसकिएको उहाँ बताउनुहुन्छ । अहिले भारतबाट आउने बन्दागोभी प्रतिकिलो २० देखि ३० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

नेपाली किसानले यो मूल्यमा बिक्री गर्दा लगानी उठाउन धौ–धौ पर्ने अर्का स्थानीय किसान चन्दन मेहताले बताउनुभयो । भारतबाट सस्तो मूल्यमा बन्दागोभी, आलु, प्याज, गोलभेँडा, काउली, बोडी, भण्टा र सागपात बजारमा भित्रिएपछि स्थानीय उत्पादन बिक्री गर्न समस्या भएको किसानले बताएका छन् ।

उत्पादन गरेको तरकारीले उचित मूल्य नपाउँदा तरकारीखेतीलाई निरन्तरता दिन समस्या भएको किसान बताउँछन् । भारतबाट आउने तरकारीमा कडाइ गर्न तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न पालिका र जिम्मेवार निकायसँग किसानको माग छ । रासस

प्रकाशित मिति: २०२४-११-२४ , समय : १०:३५:५५ , ३ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित