मधेस प्रदेश : भ्रष्टाचार मुद्दामा दोषी , पूर्वमेयरद्वारा उजुरी हाल्नेलाई कुटपिट

मिति: २०२४-११-१८ , समय : १०:४२:५६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सिरहा । अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मधेस प्रदेशको सिरहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयर गंगा पासवानले एक व्यक्तिलाई कुटपिट गरेका छन् । पूर्वमेयर पासवानले कर्जन्हा नगरपालिका-३ बन्दीपुरका ४४ वर्षीय ओमप्रकाश महतोलाई कुटपिट गरेका हुन् ।कर्जन्हा बजारस्थित चिया पसलमा बिहीबार बेलुकी बसिरहेकै अवस्थामा आफूमाथि पासवानले आक्रमण गरेको आरोप महतोको छ । पासवानले बाँसको फट्ठाले हानेको र यसले आफ्नो गर्धन तथा दाहिने हातमा चोट लागेको उनले बताए । आफूले उपचार गराएर प्रहरीमा जानकारी गराएको र आइतबार जाहेरी लिएर जाने तयारी रहेको महतोले बताए । महतोका अनुसार, पासवान मेयर छँदा उनीलगायतका व्यक्तिहरु विभिन्न योजनाहरुमा भएका भ्रष्टाचारका विषयमा अख्तियार तथा अदालतमा उजुरी हाल्ने गरेका थिए ।
यसैकारण पासवानले ‘तिमीहरुले मलाई बर्बाद बनायौ’ भन्दै आफूमाथि एक्कासी जाइलागेको आरोप महतोको छ । ‘म केही स्थानीय व्यक्तिहरुसहित चिया खाइरहेको थिएँ,’ उनले कान्तिपुरसँग भने, ‘मलाई तिमीहरुले बर्बाद बनायौ भन्दै एक्कासी ममाथि आक्रमण गर्नुभयो ।’नगरपालिकाको केन्द्रको विषय अदालतमा विचाराधीन रहेकै अवस्थामा २०७८ माघमा प्रशासकीय भवन निर्माणमा कामै नगरी १ करोड ८ लाख रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा परेको थियो । त्यसबारे विशेष अदालतले बुधबार मात्रै पासवानसहित पाँच जनालाई दोषी करार गरेको थियो ।

प्रकाशित मिति: २०२४-११-१८ , समय : १०:४२:५६ , ४ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित