कहाँ हराए मधेस प्रदेश सरकार : झन्डै १६ करोड खर्चेर बनाइएको प्रसूतिगृह प्रयोगविहीन

मिति: २०२४-११-१४ , समय : ०८:३९:५५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम अन्तर्गतको प्रादेशिक अस्पताल परिसरमा १६ करोड रुपैयाँ खर्चेर बनाइएको प्रसूतिगृह (बर्थिङ सेन्टर) उदघाटन भएको सात महिना पुगिसक्दा पनि प्रयोगमा आएको छैन ।

अमेरिकी इण्डो प्यासिफिक कमाण्ड र अमेरिकी राजदूतावासको सहयोगमा निर्मित ७० बेड क्षमताको धनुषा बर्थिङ सेन्टर १६ चैत २०८० मा उदघाटन गरिएको थियो । त्यसको शिलान्यास र उदघाटन दुवै उप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गरेका थिए ।

तर अहिलेसम्म बर्थिङ सेन्टर प्रयोगमा ल्याउन नसकेको प्रतिष्ठानका उपकुलपति प्रा. डा. अंकुर साह बताउँछन् । उनको भनाइमा बर्थिङ सेन्टरमा प्रयोगमा ल्याउन प्राविधिक समस्याहरु छन् । मुख्य समस्या प्रादेशिक अस्पताल र बर्थिङ सेन्टरको बीचमा पर्ने बाटो भएको उनी बताउँछन् ।

पश्चिमतिर बाह्रबिघा र पूर्वतिर देवीचोक जोड्ने बाटोको वारीपारी प्रादेशिक अस्पताल र बर्थिङ सेन्टर छन् । ‘गर्भवती र प्रसूतिका बिरामीहरु वारपार गर्दा दुर्घटना हुनसक्छ । त्यसकारण जबसम्म बीचको बाटो बन्द गरिँदैन, तबसम्म सञ्चालन गर्न गाह्रो छ’ उनले भने ।

बाटो बन्द गर्ने विषयमा स्थानीय जनप्रतिनिधिसँग कुरा गर्दा उनीहरुले नमानेको प्रतिष्ठानका पदाधिकारीहरु बताउँछन् । जनशक्ति व्यवस्थापन, बच्चाको लागि एनआईसीयु, अक्सिजन पाइप जडान लगायतका काम पनि गर्न बाँकी रहेकाले बर्थिङ सेन्टर सञ्चालनमा ल्याउन कठिन भइरहेको उपकुलपति साहको भनाइ छ ।

वडाध्यक्ष भन्छन्- बर्थिङ सेन्टर बनाउनुअघि विचार गर्नुपर्‍थ्यो

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष मिथिलेश कर्ण प्रतिष्ठानका पदाधिकारीको अदुरदर्शिताका कारण बर्थिङ सेन्टर सञ्चालनमा आउन नसकेको बताउँछन् । ओहोरदोहोर गर्न समस्या हुन्छ भन्ने जान्दाजान्दै बर्थिङ सेन्टर बनाउने र अहिले बाटोलाई कारण देखाउने प्रवृत्ति नै गलत भएको उनको भनाइ छ ।

‘बर्थिङ सेन्टर निर्माणकै बेला विचार गर्नुपर्‍थ्यो । अहिले आएर बाटोको कारण सञ्चालन गर्न समस्या छ भन्नु बहाना मात्र हो,’ उनले भने ।

बाटो बन्द गर्ने प्रस्ताव लिएर प्रतिष्ठानका अधिकारीहरु आफूकहाँ आएको, तर त्यो सम्भव नरहेको जवाफ दिएर पठाइदिएको वडाध्यक्ष कर्णले सुनाए । त्यहाँको बाटो अस्पताल जत्तिकै पुरानो भएकाले बन्द गर्न नहुने बताउँदै उनले भने, ‘राजा महेन्द्र जनकपुर आएको बेला त्यहीँबाट बारबिघा मैदानमा जानुभएको थियो । त्यसबेला त्यो बाटो रह्यो । अहिले बन्द गर्यो भने जनताले हामीलाई बाँकी राख्दैनन् ।’

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह बाटो बन्द गर्नुभन्दा बिचमा मानिस मात्रै ओहोरदोहोर गर्न मिल्ने संरचना बनाउने विकल्पबारे सोच्नुपर्ने बताउँछन् ।

अस्पतालका एक कर्मचारीका अनुसार नवनिर्मित भवनमा थुप्रै प्राविधिक त्रुटी छन् । नवनिर्मित भवनको माथिल्लो तलाको छतमा लगाएको टायल्स ठेकेदार कम्पनीले हस्तान्तरण गरिसकेपछि फुटाएर अर्को लगाइएको थियो । भवन भित्र सिलिङ पंखा पनि अवैज्ञानिक तरिकाले जडान गरिएको कर्मचारीको भनाइ छ ।

अमेरिकी दूतावासका एक कर्मचारीका अनुसार सुरुमा यो भवन निर्माणका लागि ६ करोडको बजेट थियो । तर, पछि संरचना हेरफेर लगायतका कारण निर्माण सम्पन्न गर्न करिब १६ करोड रुपैयाँ खर्च भएको थियो । क्रियटिभ बिलडर्स कन्सर्न कम्पनीले पाँच वर्ष लगाएर बर्थिङ सेन्टर निर्माण गरेको थियो । शैलेन्द्र महतोले अनलाइनखबरका जनकपुरबाट लेखेको समाचार हाे ।

प्रकाशित मिति: २०२४-११-१४ , समय : ०८:३९:५५ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित