मिसन आगामी मंसिर १६ : कोशी प्रदेशको ९ ठाउँमा उपनिर्वाचन हुँदै

मिति: २०२४-११-११ , समय : १२:२५:३७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

विराटनगर । आगामी मंसिर १६ गते कोशी प्रदेशका ९ ठाउँमा उपनिर्वाचन हुँदै छ । गाउँपालिका अध्यक्ष, जिल्ला समन्वय प्रमुख र वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।कोशी प्रदेशमा गाउँपालिका अध्यक्ष १, जिल्ला समन्वय प्रमुख १ र वडाध्यक्ष ७ गरेर ९ पद रिक्त छन् । मुलुकभर स्थानीय तहका रिक्त रहेका पदका लागि उपनिर्वाचन हुँदैछ । कोशीमा मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि निर्वाचन हुने छ । २०७९ सालको चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष जयप्रकाश गच्छदारको गत असार ३ गते निधन भएपछि उक्त पदका लागि चुनाव हुने भएको हो ।

सत्तारुढ कांग्रेसले बलराम सरदार, नेकपा ९एमाले०ले तुलसीराम विश्वास र प्रतिपक्षी ९नेकपा माओवादी केन्द्र०ले नमोनारायण माझीलाई उम्मेदवार बनाएका छन् । दलहरुले निर्वाचन प्रचारप्रसारलाई तीव्र पारेका छन् ।झापाको कनकाई नगरपालिका–६, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका– ६, ओखलढुंगाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ तथा ताप्लेजुङको सरिजंघा गाउँपालिका–३ को वडाध्यक्ष चयनका लागि उपनिर्वाचन हुँदैछ ।
यसअघिको निर्वाचनबाट कनकाई–९ मा एमालेका दीर्घबहादुर थापा, लालीगुराँस–८ मा कांग्रेसका तेजमान लिम्बू, गढी–६ मा एमालेका सदानन्द उराउ झाँगड र मोलुङ–५ मा कांग्रेसका गोपीकृष्ण कार्की वडाध्यक्ष निर्वाचित भएका थिए । त्यस्तै, त्रियुगा नगरपालिका–१२ मा कांग्रेसका चूडाराज काफ्ले र बेलका–९ मा कांग्रेसका पदमबहादुर खड्का तथा सरिजंघा–३ मा कांग्रेसका दिलप्रसाद बोखिम २०७९ को निर्वाचनबाट वडाध्यक्ष भएका थिए ।
निर्वाचनका आयोगका अनुसार वडाध्यक्षहरु कसैको मृत्यु भएको र कोही विदेश गएकाले रिक्त रहेको पदमा उपनिर्वाचन गर्नुपर्ने अवस्था आएको हो । उपनिर्वाचनको तयारी तीव्र पारिएको आयोगले जनाएको छ । कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी छ । राजनीतिक दलहरु पनि चुनाव केन्द्रित भएका छन् ।
जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखका लागि पनि चुनाव हुँदै छ । कांग्रेसबाट निर्वाचित डिल्लीराम खनालको गत असोजमा निधन भएपछि जिल्ला समन्वय समितिको प्रमुखका लागि चुनाव हुने भएको हो ।
मुलुकभर ४४ पदका लागि उपनिर्वाचन हुने छ । जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख १ , उपप्रमुख १ र वडाध्यक्ष ३४ पदका लागि चुनाव हुने भएको हो । उम्मेदवारले मंसिर २ गते मनोनयन दर्ता गर्नुपर्ने छ ।

प्रकाशित मिति: २०२४-११-११ , समय : १२:२५:३७ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित