कोशी प्रदेश : दलालको फन्दामा मन्त्री ,मानव तस्करीको विवादमा परेपछि राजीनामा

मिति: २०२४-११-०८ , समय : २०:३५:३५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले मानव तस्करीको विवादमा परेपछि बुधबार राजीनामा दिएका छन् । जापान सरकारले मानव तस्करीको आरोपमा ४८ घण्टा केरकार गरेर उनलाई विमानस्थलबाट फर्काइदिएको छ । चार असम्बन्धित व्यक्तिलाई सँगै लिएर एक साताअघि अधिकारी जापान उडेका थिए । टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुन अधिकारी कात्तिक १३ मा जापान उडेका थिए ।

उनले अनिता तिमल्सिना, जनक राई, दाबा शेर्पा र कञ्चन देवकोटालाई सँगै लिएर गएका थिए । मन्त्रीसँगै गएका चार जनाको कागजपत्र शंकास्पद देखिएपछि जापानको अध्यागमनले करिब ४८ घण्टा विमानस्थलमा राखेको थियो । मन्त्रीसहित पाँचै जनालाई क्याथे प्यासेफिकको उडान नम्बर ६०३ बाट काठमाडौं फर्काइएको थियो । अधिकारी र तिमल्सिनालाई त्रिभुवन विमानस्थल अध्यागमनले सामान्य सोधपुछपछि कागज गराएर छाडेको थियो भने अन्य ३ जनालाई अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको छ ।कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारी बनेर जापान गएका खोटाङका दावा शेर्पा र कञ्चन देवकोटा नक्कली कर्मचारी रहेको पुष्टि भएको छ।प्रहरीले यी दुबैजनाको साथबाट मन्त्रालयको कर्मचारीको परिचय पत्र फेला पारेको थियो। परिचय पत्रमा उनीहरूको पद सहायक लेखिएको छ।प्रहरीले दुबैजनाबाट बरामद भएको परिचय पत्र सक्कली हो या हैन भनेर लिखित रूपमा मन्त्रालयसँग जानकारी मागेको र मन्त्रालयबाट दुवै मन्त्रालयको कर्मचारी नभएको र उनीहरूको साथमा रहेको परिचय पत्र पनि नक्कली भएको लिखितै जानकारी गराएको छ।अर्का जनक राईको साथबाट प्रहरीले ऐसेलुखर्क गाउँपालिकाको दुई नम्बर वडाको वडा सदस्य भएको परिचय पत्र फेला पारेको थियो। प्रहरीले गाउँपालिकासँग यसबारे बुझ्न पत्राचार गरेकोमा त्यताबाट पनि सो परिचय पत्र नक्कली भएको र उनी वडाको सदस्य नभएको लिखितै जानकारी आएको छ ।

जापान अध्यागमनले फर्काइदिएपछि पाँचै जना कात्तिक १७ मा काठमाडौं आइपुगेका थिए । यात्रासँग सम्बन्धित कागजपत्रमा कैफियत देखिएको जानकारी पाएपछि अध्यागमनले थप अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाएको हो ।जापानबाट फर्काइएका ३ जनामाथि अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले थप तीन जनालाई पक्राउ गरेको छ । कार्यालयले उनीहरू ६ जनामाथि नै थप अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ । परिसर प्रमुख एसएसपी वसन्त रजौरेले उनीहरूविरुद्ध सरकारी कागज किर्तेसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जानकारी दिए ।
बुधवार अधिकारीले मन्त्री पदबाट राजीनामाको घोषणा गर्न पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रममा सहभागी हुन आफू एक्लै गएको, हङ्कङमा ३ जना मान्छे भेटिएपछि शङ्का लागेर फर्किएको र आफैँले प्रहरीलाई जानकारी गराएको दाबी गरेका थिए।मन्त्री अधिकारीसहित चारै जनालाई जापानको अध्यागमनका सुरक्षाकर्मीले तीन जनाको कागजपत्र शङ्कास्पद रहेको र मन्त्री अधिकारी समेत सँगै रहेकाले उनी समेत संलग्न रहेको शङ्कामा डिपोर्ट गरेको थियो।प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिँदा एक जना बहालवाला प्रदेश मन्त्री नै रहेको खुलेपछि उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयमा जानकारी गराएर छाड्न आदेश आएपछि छाडेका थिए।जापानबाट फर्काइएकामध्ये देवकोटा रसुवाको कालिका गाउँपालिका–५ घर भई मनमैंजु बस्दै आएका छन् भने शेर्पा खोटाङको ऐंसेलुखर्क गाउँपालिका–२ घर भई बूढानीलकण्ठ–११ बस्छन् । त्यस्तै खोटाङकै केपिलासगढी गाउँपालिका–४ घर भएका राई बूढानीलकण्ठ–११ बस्छन् ।नुवाकोटको विदुर नगरपालिका–७ घर भई सामाखुशी बस्ने जुगल रिजाल, दोलखाको जिरी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने वीरबहादुर सुनुवार, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ घर भई चन्द्रागिरि नगरपालिका–८ बस्ने महेश पाण्डे समातिएका हुन् ।बयानका क्रममा उनीहरूले परिचय पत्र मन्त्रीको कार्यकक्षमै बनाएको र कागजपत्र बनाउन संलग्न व्यक्तिहरूको नाम लिएपछि धादिङका ३४ वर्षीय महेश पाण्डे, नुवाकोटका २३ वर्षीय जुगल रिजाल र दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार पक्राउ परे।
प्रदेशका मन्त्रीले पनि विदेश भ्रमण गर्दा संघीय मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्छ ।मन्त्रीको विदेश भ्रमण मन्त्रीपरिषद्बाट स्वीकृत गर्नुपर्नेमा उनले स्वीकृत नगराएको, निमन्त्रणा पत्र आएपछि उनले राहदानी बुझाएर भिसा समेत लागिसक्दा पनि मन्त्रालयमा समेत जानकारी नगराएको र काठमाडौँ जान्छु भनेर जापान गएको देखिएको छ । अधिकारी एमालेबाट निर्वाचित सांसद हुन्। मानव तस्करीसम्बन्धी अनुसन्धान भएकाले अहिले यसबारे प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २०२४-११-०८ , समय : २०:३५:३५ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित