तिहार सकियो : मिथिलान्चलमा छठ पर्वको तयारी शुरु , डाेम समुदाय छठका लागि बाँसका सामग्री बनाउन व्यस्त
मिति: २०२४-११-०४ , समय : ०९:३६:२१ , शुभ नारायण यादब
मिति: २०२४-११-०४ , समय : ०९:३६:२१ , शुभ नारायण यादब
शुभ नारायण यादब
काठमाण्डौ । यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाकासाथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाए । यस्तै दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएका थिए । भाइटिकासँगै झिलिमिली पर्व तिहार सकिएको छ ।
यसैबीच तिहार सकिएसँगै छठ पर्वको तयारी शुरु भएको छ । काठमाण्डौसहित तराई/मधेसका जिल्लामा छठको तयारी शुरु भएको हो । गुह्येश्वरी मन्दिरमुनिको बाग्मती किनारमा आकर्षक रूपमा छठ घाट निर्माण थालिएको छ । विशेषगरी सन्तानको सुख, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा लिईन्छ । यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त छन् ।
छठमा प्रसादका रूपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुलालगायत किनमेलका लागि जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ ।
तराईका जिल्लामा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेहरुको भीडभाड छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, मुला, अदुवाको बोट पर्छन् । अहिले छठपर्व मनाउनेहरू पोखरीका डिल र नदीका तट सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् ।
घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेका छन् । छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ । केही भारतीय नागरिकसमेत नेपाली बजारमा छठका लागि माटोका भाँडो बिक्रि गर्न आउन थालेका छन् ।
धनुषाको जनकपुरधामसहित महेन्द्रनगर सखुवा, ढल्केवर, वटेश्वर, धारापानी, वीरेन्द्रबजार, सबैला, सहिदनगरको मुख्य चोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभई दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएका छन् ।
कोशी प्रदेशको सुनसरी हरिनगर गाउँपालिका–२ की गीता मरिकलाई कतिबेला बिहान हुन्छ र काम गरौँला भन्ने छटपटी हुन्छ । आस्था र लोकपर्वका रूपमा रहेको छठ पर्व नजिकिएसँगै उहाँको व्यस्तता बढेको हो । छठका लागि चाहिने सामग्री बनाउन सदरमुकाम इनरुवासहित हरिनगर, देवानगन्ज, इटहरी, दुहबी, रामधुनी, कोसी, बराह क्षेत्रलगायतका क्षेत्रमा बसोबास गर्ने मरिक समुदायलाई चटारो छ ।
छठमा प्रयोग हुने कोनियाँ, ढकी, नाङ्गलोलगायत बाँसका सामग्री बनाउनका लागि व्यस्त हुनुपरेको हरिनगर–२ का वीरेन्द्र मरिक बताउनुहुन्छ । छठमा बाँसका सामग्रीको माग अधिक हुने गरेकाले यस्ता सामान बनाएर बिक्री वितरण गरी कमाइ भएको रकमले चाडपर्वको गर्जो टार्ने गरेको वीरेन्द्रको भनाइ छ ।
छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक समुदायका व्यक्तिले पनि यस बेला आम्दानी गर्ने अवसर पाउँछन् । ‘अरू बेला कमाइ हुँदैन, पर्व अवसरका रूपमा आउने गर्छन्’, स्थानीय विन्देश्वर मरिकले भन्नुभयो । तर पछिल्लो समय आधुनिकतासँगै भित्रिएका प्लाष्टिकलगायतका सामग्रीले घरमा बनाएका सामानको माग घट्दै गएकोमा मरिक समुदाय उत्तिकै चिन्तित छन् ।
प्रकाशित मिति: २०२४-११-०४ , समय : ०९:३६:२१ , १ महिना अगाडि