तिहारको मुख्य दिन आज भाइटीका : मिथिलाञ्चलमा आज भरदुतिया पर्व मनाइँदै

मिति: २०२४-११-०३ , समय : ०७:३७:४४ , लक्ष्मी चौधरी

तस्बिर : सामाजिक सन्जालबाट

लक्ष्मी चौधरी

काठमाण्डौ । मिथिलाञ्चलमा आज भैयादुज अर्थात भरदुतिया पर्व मनाइँदै छ । मिथिलाञ्चलमा दिदीबहिनीले आज आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँछन् । कात्तिक शुक्ल द्वितीया तिथिमा दिदीबहिनीले दाजुभाइलाई बोलाएर पूजा गर्ने मैथिल परम्परा छ । मिथिलामा यस पर्वलाई भैयादुज, भरद्वितीया र भातृद्वितीया पनि भन्ने चलन छ । यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन् ।

अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा छ । विवाहित दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ वस्त्र, आभूषण कोसेली लिएर जाने गर्छन् । पर्वमा दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइ बसाउँछन् ।

यसपछि दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीले सप्तरङ्गी टिका लगाइ दिने मैथिल परम्परा रहेको मिथिलाका प्रसिद्ध साहित्यकार डा. राजेन्द्र विमल बताउनुहुन्छ । मिथिलाञ्चलमा भैयादुज पर्व हर्षोल्लास र खुसीका साथ मनाउने गरेको र यस पर्वले दिदीबहिनी तथा दाजुभाइको सम्बन्ध अझै प्रगाढ बनाउने गरेको जलेश्वर नगरपालिका—१ बाबा जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पूजारी उपेन्द्र पाठकले बताउनुभयो ।    
यता यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसरी पूजा गरी टिका लगाउनाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ३७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको अधिकारीले जानकारी दिनुभयो ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम् सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवम् सामाजिक परम्परा छ । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । केही नेवार समुदायले हिजो नै किजापूजा गरेका छन् ।   

प्रकाशित मिति: २०२४-११-०३ , समय : ०७:३७:४४ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित