कोशी प्रदेश : झन्डै साढे ७ लाख बढीको सामान बरामद
मिति: २०२४-१०-२५ , समय : १६:५९:०९ , गामघर डेस्क
मिति: २०२४-१०-२५ , समय : १६:५९:०९ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । मोरङका विभिन्न स्थानबाट साढे ७ लाख रूपैयाँभन्दा बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ ।भारतबाट तस्करी गरेर नेपाल भित्राइएका सामान प्रहरीले पछिल्लो २ दिनको अवधिमा बरामद गरेको हो । भन्सार छली गरी ल्याइएका मेसिनरी पाट्र्स, खाद्यान्न, फूल, कपडासमेतका सामान बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।
मोरङ प्रहरी प्रमुख बनेर एसपी नारायणप्रसाद चिमरिया आएपछि प्रहरीले तस्करीका सामान नियन्त्रणमा सक्रियता बढाएको छ । एसपी चिमरिया सोमबार मोरङ हाजिर भएका हुन् । मोरङ हाजिर हुनसाथ उनले विभिन्न युनिटका इन्चार्जलाई बोलाएर तस्करी नियन्त्रणमा ध्यान दिन र शून्य सहनशीलतामा काम गर्न निर्देशन दिए ।
मोरङको सुनवर्षी नगरपालिका–८ हरिश्चनगढीबाट २ लाख ८३ हजार ९ सय रूपैयाँ बराबरको मेसिनरी पाट्र्स प्रहरीले बुधबार राति बरामद गरेको छ । भारतबाट भन्सार छली गरेर नम्बर नखुलेको मोटरसाइकलमा लोड गरी नेपाल भित्राइएको पाट्र्स इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले बरामद गरेको हो ।
प्रहरीलाई देख्नासाथ सामान छाडी मोटरसाइकल लिएर तस्करीमा संलग्न फरार भएको डीएसपी जोशीले बताए । तस्करीमा संलग्नको खोजी भइरहेको उनको भनाइ छ ।
मोरङको बूढीगंगा गाउँपालिका–२ बाँसबारी चोकबाट ४१ हजार ५ सय ४० रूपैयाँ बराबरको तस्करीको सामान प्रहरीले बरामद गरेको छ । सीआरभी बाँसबारीबाट खटिएको टोलीले कोशी राजमार्गमा चेकजाँच गर्ने क्रममा बुधबार साँझ लत्ताकपडा र खाद्यान्न बरामद गरेको हो ।
विराटनगर महानगरपालिका–१३ गौशाला चोकबाट बिहीबार बिहान प्रहरीले २ लाख २० हजार मूल्य बराबरको सयपत्री फूल तथा माला बरामद गरेको छ । भारतबाट ११ वटा बोरामा प्याक गरेर ल्याउँदै गर्दा माला र फूल सवारीसाधन चेकजाँचका क्रममा प्रहरीले बरामद गरेको हो ।
तिहार नजिकिएसँगै भारतबाट अवैध रूपमा फूल नेपाल भित्रिन थालेको छ । बरामद भएको फूल आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।
इलाका प्रहरी कार्यालय रानीको टोलीले विराटनगर–१५ बाट ३३ हजार ५ सय रूपैयाँ बराबरको कपडा बरामद गरेको छ । भारतबाट भन्सार छली गरेर ल्याइएका कपडा बिहीबार दिउँसो २ः४५ बजेतिर बरामद गरिएको डीएसपी जोशीले बताए ।रानीको प्रहरी टोलीले बिहीबार साँझ नै विराटनगर–१५ पानी ट्यांकीबाट १ लाख २८ हजार मूल्य बराबरको खाद्यान्न र रंग बरामद गरेको छ । तिहार लागेपछि भारतबाट रंगसमेत तस्करी गरेर नेपाल भित्राउने गरिएको छ ।
विराटनगर–१३ स्थित डीएभी स्कुलनजिकबाट प्रहरीले ८८ हजार ८ सय ४० रूपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । बिहीबार दिउँसो सीआरभी जतुवाबाट खटिएको टोलीले खाद्यान्न सामग्री बरामद गरेको हो ।बरामद गरिएका सामान प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । तस्करी नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको डीएसपी जोशीले बताए ।
प्रकाशित मिति: २०२४-१०-२५ , समय : १६:५९:०९ , २ महिना अगाडि