आज बडादशैँको मुख्य दिन विजयादशमी : मान्यजनको हातबाट जमरा लगाउदै

मिति: २०२४-१०-१२ , समय : १२:२०:५९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । आज बडादशैँको मुख्य दिन, विजयादशमी । विहान ११ बजेर ३६ मिनेटको शुभ साइतमा टीका र जमरा लगाइएको छ । नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाइएको हो । घटस्थापनाका दिन दशैँघर वा पूजाकोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशीमा टीका लगाइन्छ ।

आज गुरु, पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट टीका, जमरा तथा प्रसाद लगाइन्छ । विजयादशीको टीका लगाई दिँदा यश, ऐश्वर्य वृद्धि एवम् दीर्घायु प्राप्त होस् भन्ने जस्ता आशीर्वाद दिइन्छ ।

बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने उत्तम साइत रहेपनि साइत नखोज्ने र साइतमा लगाउन नभ्याउनेहरुले आज दिनभर नै टीका लगाउन मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । उहाँका अनुसार टीका लगाइदिने व्यक्ति पश्चिमतर्फ र लगाइमाग्ने व्यक्ति पूर्वतिर फर्केर टीका र आशीर्वाद ग्रहण गर्न उत्तम छ ।

त्यस्तै आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादशैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ । आउँदो ३० गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैँ पर्व समाप्त हुन्छ ।

प्रकाशित मिति: २०२४-१०-१२ , समय : १२:२०:५९ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित