दशैँ नजिकिएसँगै बजारमा चहलपहल शुरु : दशैँको टीकाको साइत बिहान ११ बजेर ३६ मिनेटमा
मिति: २०२४-०९-२१ , समय : ०९:४७:२९ , लक्ष्मी चौधरी
मिति: २०२४-०९-२१ , समय : ०९:४७:२९ , लक्ष्मी चौधरी
लक्ष्मी चौधरी
काठमाण्डौ । दशैँ नजिकिंदै गर्दा बजारमा चहलपहल बढ्न थालेको छ । काठमाण्डौ उपत्यकाका असन, इन्द्रचोक, महाबौद्ध, न्युरोड, भृकुटीमण्डप, बानेश्वर लगायतका मुख्य बजारमा उपभोक्ताको चहलपहल बढ्न थालेको हो । कतिपयले दशैँको किनमेल थालिसकेका छन् ।
आर्थिक मन्दीका कारण व्यापार नभएर निराश भएका व्यापारीहरु दशैँमा भने व्यापार बढ्ने आशामा छन् । सरकारी कर्मचारी तथा अरू कामकाजीले दशैँ खर्च पाएपछि र बिदा नजिक आएपछि ग्राहक बढ्ने व्यापारीहरुको अपेक्षा छ । अब घटस्थापना आउन दुई हप्ता पनि बाँकी छैन ।
अर्को हप्ताको शनिवारदेखि बिस्तारै व्यापार पढ्ने व्यापारीहरुले आशा गरेका छन् । दशैँकै लागि भनेर सरकारले अस्ति ३ गतेदेखि सहुलियत पसल पनि शुरु गरिसकेको छ । यी पसलमा पनि ग्राहकको चहलपहल बढ्न थालेको छ ।
यता यस वर्ष विजयादशमीको शुभसाइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटका लागि उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान ८ बजेर ३३ मिनेटदेखि देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
विजयादशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उहाँले बताउनुभयो । यस वर्षको नवरात्र अर्थात दशैँ यही असोज १७ गते बिहीवारदेखि शुरु हुँदैछ । त्यस दिन बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले जनाएको छ ।
साथै असोज १८ गते शुक्रवार झण्डा फर्ने (पश्चिम मोहडा) ९ः१४ बजे, असोज २२ गते मङ्गलवार पचलीभैरव यात्रा, असोज २४ गते बिहीवार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०९-२१ , समय : ०९:४७:२९ , ३ महिना अगाडि