स्थानीय निकायमा काम गर्न सहज : प्रमुख प्रशासकीय अधिकृत रामलखन यादव

मिति: २०२४-०९-२० , समय : २१:३५:२१ , देवराम यादव

तस्बिर : सामाजिक सन्जालबाट

देवराम यादव

राजविराज ।
मुलुक भरीको अधिकांश स्थानीय तहहरूमा कर्मचारी र जनप्रतिनिधिको सम्बन्धमा वादविवाद भईरहदा सप्तरीको एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले अरु कार्यालयको तुलनामा स्थानीय तह चलाउन सहज रहेको अनुभव सुनाउनुभएको छ । सप्तरी महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले सो अनुभव सुनाउनुभएको हो ।
उहाँले महादेवा गाउँपालिकामा आए पछि स्थानीय तह सञ्चालन ऐनमा टेकेर करार कर्मचारीको लागि दीर्घकालीन रोडम्यापसहितको कार्यविधि तयार पारिसकेको बताउनुभयो । यो वर्षलाई ऐन निर्माण र कार्यान्वयनको वर्षको रुपमा काम गर्दैआएको उहाँले बताउनुभयो । केही समय भित्रै गाउँपालिका चलाउन शिक्षा,न्याय ,अर्थ सम्बन्धि आवश्यक ऐन कानुन निर्माण गरी गापाको राजपत्रको रूपमा ऐन किताव प्रकाशित गर्ने गृह कार्य भइरहेको उहाँले बताउनु भयो ।
प्रमुख प्रसासकीय अधिकृत यादवका अनुसार अन्य विषयगत कार्यालयमा अवसर बाँडफॉट भए पनि चुनौती बढी नेतृत्वमा रहेको उहाँले विगतको अनुभव समेत सुनाउनु भयो । उहाँले पालिकामा हरेक विषयको आ–आफ्नो छुट्टै शाखा हुन्छ र प्रत्येक शाखा प्रमुखले जनप्रतिनिधि र कार्यालय प्रमुखसँग समन्वय गरी स्वतन्त्रपूर्वक आफ्नो शाखाको कार्यसम्पादन गर्ने सक्ने अधिकार रहेको अनुभव बताउनु भयो ।
स्थानीय सरकारले गर्ने विकासका हरेक कामकारबाहीमा जनप्रतिनिधि र कर्मचारीलाई जिम्मेवार बनाउन सक्यो भने स्थानीय तहमा बसेर काम गर्न अत्यन्तै सहज हुने उहाँको विगतको अनुभव रहेको छ । उहाँले विगतमा विभिन्न जिल्लामा प्रशासनको काम सफलता पुरा गरेको अनुभव सुनाउदै जुनसुकै स्थानीय तहमा जाँदा त्यहाँका जनप्रतिनिधि र सम्पूर्ण शाखा प्रमुखलाई आफ्नो क्षेत्राधिकार र जिम्मेबारी विभाजन गरेर समन्वयात्मक तवरले काम गर्ने पक्षमा आफु रहेको बताउनुहुन्छ ।
सप्तरीमा केही जनप्रतिनिधि र कर्मचारीबीच विवादहरू हुने गरेकोले त्यसलाई समझदारीमा हल गर्नु पर्ने उहाँले आफनो अनुभव सुनाउनुभयो । यता कामको दौरानमा पालिकाहरुमा जनप्रतिनिधि र कर्मचारीबीच विवाद हुने गरेको उहाँले विगतको अनुभव बताउनु भयो ।

प्रकाशित मिति: २०२४-०९-२० , समय : २१:३५:२१ , 7 months अगाडि