सप्तरीको राजविराज–छिन्नमस्ता सडक अधुरै : सडकमा पानी जमेर पोखरी बनेको
मिति: २०२४-०९-०१ , समय : ०८:१०:२७ , गामघर डेस्क
मिति: २०२४-०९-०१ , समय : ०८:१०:२७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको राजविराज–छिन्नमस्ता सडक दुई वर्षदेखि निर्माणाधीन अवस्थामा छ । सप्तरीको प्रसिद्ध पवित्र धार्मिकस्थल छिन्नमस्ता भगवती शक्तिपीठसम्म पुग्ने उक्त सडक गत असारमै निर्माण सम्पन्न भइसक्नुपर्नेमा हालसम्म २९ प्रतिशत मात्र काम सकिएको छ ।
ठाउँ ठाउँमा सडक भत्किएर पैदल हिँड्न समेत सकिने अवस्था छैन । जताततै खाल्डाखुल्डी मात्रै छन् । सडकमा पानी जमेर पोखरी बनेको छ । मोटरसाइकल गुडाउन पनि समस्या भएको शक्तिपीठ दर्शन गर्न गएका बोदे बर्र्साइन नगरपालिका–३ का २८ वर्षीय धिरज यादवले बताए ।
टेम्पो व्यवसायी सत्यनारायण चौधरी ठूलो सङ्ख्यामा आउने दर्शनार्थीलाई छिन्नमस्ता भगवती मन्दिर पुग्न कठिनाइ हुने गरेको बताउछन् । ‘कुनै पनि बेला दुर्घटना हुनसक्ने खतरा छ, जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने अवस्था छ’, उनले भने ।
हाल सो सडकखण्डमा बस सेवा बन्द छ । अटोरिक्सा मात्र चल्ने भएकाले उनीहरुले यात्रुबाट मनपरी भाडा लिने गरेको ललापटीका रामप्रित यादवले बताए । बाटो बिग्रिएका कारण १० किलोमिटर यात्रा तय गर्न एक घण्टाभन्दा बढी समय लाग्ने गरेको उनको भनाइ छ ।
सडक मर्मतको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीसहितको टोलीले लहानस्थित सडक डिभिजन कार्यालयमा धर्ना समेत दिएको थियो । ‘सडक मर्मतका लागि सडक डिभिजन कार्यालय लहानलाई पटक–पटक आग्रह गर्दैआएका छौँ, धर्ना पनि बस्यौँ, तर केही पहल भएको छैन’, उनले भने । सडककै कारण पछिल्लो समय छिन्नमस्ता शक्तिपीठ आउने भक्तजनको सङ्ख्यामा कमी आएको उनको भनाइ छ ।
स्थानीयले अविलम्ब उक्त सडक स्तरोन्नतिको माग गरेका छन् । राजविराज–छिन्नमस्ता–नेउर बोर्डर सडकखण्ड निर्माण कार्यको शिलान्यास २०७८ चैतमा गरिएको थियो । उक्त सडक निर्माणका लागि सडक डिभिजन कार्यालय लहानले रु २५ करोड ८८ लाखमा साह इन्जिनियरिङ प्रालि शम्भुनाथ सप्तरीलाई ठेक्का दिएको हो । सडक निर्माण गर्न २०७९ असारमा निमार्ण कम्पनी र सडक डिभिजन कार्यालयबीच सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण कार्य गत असारमा सक्नुपर्ने थियो । उक्त सडक अब २०८२ असारसम्ममा निर्माण गरिसक्नुपर्ने सडक डिभिजन कार्यालय लहानका सूचना अधिकारी अश्विनी यादवले बताए। रासस
प्रकाशित मिति: २०२४-०९-०१ , समय : ०८:१०:२७ , ४ महिना अगाडि