सप्तरीको राजविराज तथा विराटनगरमा बृहत् राधाकृष्ण रथयात्रा : कोशी प्रदेशमा सार्वजनिक बिदा

मिति: २०२४-०८-२७ , समय : ०९:५६:५६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । प्रत्येक बर्ष झै यस बर्ष पनि सप्तरीको राजविराजमा बृहत् राधाकृष्ण रथयात्रा आज निकालिने भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आज सप्तरीको राजविराज नगरपालिका वडा न.९ मलेठ स्थित राधाकृष्ण मन्दिरबाट विशाल रथयात्रा निकालिने आयाेजकले जनाएको छ । यस्तै कोशी प्रदेशको विराटनगरको राधाकृष्ण रथयात्रा आज निकालिंदैछ । रथ यात्रा राधाकृष्ण मन्दिरबाट दिउँसो ३ प्रारम्भ हुनेछ ।

विराटनगरमा विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको थियो । २०२५ सालयता खटसँगै रथयात्रा निकालिंदै आएको छ ।

खटको ९३औं र रथको ५६औं संस्करण हो । विराटनगरको राधाकृष्ण रथयात्रालाई दक्षिण एसियाको दोस्रो ठूलो रथयात्रा भएको दाबी गरिन्छ ।

विराटनगर महानगरपालिका-१ स्थिति राधाकृष्ण मन्दिरबाट निकालिने राधाकृष्णको युगल जोडीसहितको रथले विराटनगर बजार क्षेत्रको करिब ८ किलोमिटर यात्रा तय गर्ने छ ।


राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैन, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ । यात्राका क्रममा ४६ स्थानमा रथलाई विश्राम दिइनेछ ।

राधाकृष्ण रथयात्रालाई लक्षित गरेर प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।


रथयात्राका क्रममा हुनसक्ने सम्भावित चोरी र पकेटमारी रोक्नका लागि उच्च सतर्कता अपनाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

रथयात्राका लागि कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । सुरुमा झापा मोरङ र सुनसरीमा बिदा दिएको थियो । यो वर्ष प्रदेशभर बिदा दिएको हो ।

प्रकाशित मिति: २०२४-०८-२७ , समय : ०९:५६:५६ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित