सप्तरीमा यस वर्ष आँपको उत्पादन बढ्ने

मिति: २०२३-०३-१५ , समय : १०:४२:४२ , देबराम यादव

फाइल फाेटाे

देबराम यादव

राजविराज । सप्तरीमा यस वर्ष आँपको उत्पादन बढ्ने भन्दै किसान उत्साहित भएका छन् । आँपको बोट झाँगिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका हुन् । एकाध आँप भएका बारी होस् वा आँपको बगैँचा नै किन नहोस् यतिबेला सबैतिर आँपका रुखहरूमा फूलहरू फुलेका छन् ।

सप्तरीेमा घरायसी प्रयोजनका लागि अधिकांश घरमा आँपको बाेट लगाइएको छ । यसैगरी, व्यवसायिक प्रयोजनका लागि विभिन्न स्थानमा समेत आँपका फूलहरू फुलेर झकिझकाउ भएका छन् । कृषि ज्ञान केन्द्र सप्तरीेका प्रमुख राजेन्द्रप्रसाद यादवले यस वर्ष आँपको ऋतु राम्रो भएको बताउनुभयो ।

“आँप एक वर्ष बढी र अर्को वर्ष कम उत्पादन हुन्छ,” कार्यालय प्रमुख यादवले भन्नुभयो, “यस वर्ष सबै तिरबाट आँपको उत्पादन राम्रो हुने अनुमान गरिएको छ ।”

सप्तरीे लगायतका जिल्लामा चैत, वैशाख तथा जेठ महिनामा आउने हावाहुरीले आँप झारेर क्षति पु¥याउने भए पनि यस वर्ष फुलेको आधारमा बढी उत्पादन हुने कार्यालयले जनाएको छ ।

सप्तरीेमा सबैभन्दा बढी मालदह आँप लगाइएको छ । यसैगरी, किसुनभोग, बम्बै, अम्रपाली, दार्जलिङ्ग, केलवा, कलकतियालगायतका अन्य जातको आँपको रुख पनि लगाइएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार सबै जातका आँपको रूपमा फूलहरू फुलेका छन् ।

सप्तरीे जिल्लाभर करिब पाँच हजार २८७ हेक्टर जमिनमा आँप लगाइएको कार्यालय प्रमुख यादवले बताउनुभयो । जिल्लामा अधिकांशका बगैंचामा आँप लगाएको पाइन्छ । सप्तरीेको शम्भुनाथ, सीतापुर, फत्तेपुर, लोहजारा, महुली, मोहनपुर, रुपनी, बेल्हा , रुपनगर, कञ्चनपुर, कदमहा, कल्याणपुर, जोगमोहनलगायतका क्षेत्रमा आँपको व्यावसायिक उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति: २०२३-०३-१५ , समय : १०:४२:४२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित