बङ्गलादेशमा लगातारको वर्षा र बाढीका कारण २० जनाको मृत्युु ,५० लाख प्रभावित

मिति: २०२४-०८-२६ , समय : ०८:१८:१४ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

काठमाडौं ।
बङ्गलादेशमा अविरल मनसुनी वर्षा र नदीमा आएको बाढीका कारण २० जनाको ज्यान गएको छ । ५० लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् ।

विशेष गरी दुर्गम क्षेत्रहरूमा बाढीका कारण धेरैलाई खाना, सफा पानी, औषधि र लुगाको तत्काल आवश्यकता परेको तर सडक अवरुद्ध भएकाले उद्धार र राहतमा समस्या भइरहेको बङ्गलादेशको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

गएराति मध्यरातमा आएको बाढीले राजधानी ढाकाका ग्रामीण क्षेत्रसहित ११ जिल्ला प्रभावित भएका छन् । बङ्गलादेशका केही मानिसहरूले छिमेकी भारतमा बाँधका ढोकाहरू खोल्दा बाढी आएको आरोप लगाएका छन् । तर नयाँ दिल्लीले भने बङ्गलादेशको दाबी अस्वीकार गरेको छ ।

बङ्गलादेशको मौसम विभागले पानीको सतह नघटेकाले वर्षा नरोकिएमा बाढीको जोखिम कायमै रहेने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सचेत रहेर सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ ।

विश्व बैंक इन्स्टिच्युटले सन् २०१५ मा गरेको एक विश्लेषणले विश्वको सबैभन्दा जलवायु जोखिममा रहेका देशहरू मध्येको एक बङ्गलादेशमा ३५ लाखभन्दा धेरै मानिस वार्षिक रुपमा बाढीको जोखिममा रहेको अनुमान गरेको थियो । वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण विनाशकारी प्राकृतिक प्रकोपका घटना बढेको बताएका छन् । एजेन्सी

प्रकाशित मिति: २०२४-०८-२६ , समय : ०८:१८:१४ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित