सुनकोशी नदीमा खसेको जीप भेटियो : बेपत्ता तीन जनाको अवस्था अझै अज्ञात

मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते

मिति: २०२४-०८-२५ , समय : ०८:५५:११ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डौ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जीप भेटिएको छ । गोताखोरको टोलीले बेपत्ता प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको जीप क्षतिग्रस्त अवस्थामा गएराति फेला पारेको हो ।

खोटाङको हलेसीबाट काठमाण्डौका लागि छुटेको जीप हिजो बेलुका सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो । मध्यपहाडी लोकमार्गमा गुडिरहेको जीप सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता छन् । उनीहरुको अवस्था अझै थाहा हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार गाडी खस्दा चालक भक्तपुरको सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् ।

हाम फालेर ज्यान जोगाएका अर्का एक जना सुशान्त कक्षपति घाइते हुनुहुन्छ । उहाँको स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । बेपत्ताको खोजी भइरहेको र खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहित प्रहरी टोली खटिएको छ । 

यता मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा आज बिहान बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस बिहान सवा सात बजे भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दुर्घटना भएको हो । बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा १० जना घाइते भएका र उनीहरुको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार उपचार भइरहेकामध्ये दुई जनाको अवस्था गम्भीर छ । दुर्घटनापछि घुमाउनेमा बाटो एकतर्फी भएको छ ।

प्रकाशित मिति: २०२४-०८-२५ , समय : ०८:५५:११ , 8 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित