बस दुर्घटनामा मृत्यु भएका २७ जनाको शव विमानमार्फत भारत पठाइयो

मिति: २०२४-०८-२४ , समय : १८:२२:२९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डौ । हिजो तनहुँमा बस दुर्घटनामा हुँदा ज्यान गुमाएका भारतीय नागरिकको शव सरकारले भारत पठाएको छ । आज दिउँसो आएको भारतीय वायुसेनाको विशेष जहाजले शवलाई भारत महाराष्ट्रको नासिक जिल्लामा लगेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

दुर्घटनामा २७ जनाको ज्यान गएकोमा गोरखपुरका दुई जनाको शव एम्बुलेन्समार्फत पठाएको र २५ जनाको शव वायुसेनाको विमानले लगेको यादवले बताउनुभयो । दुर्घटनामा परेका सबै शवको पहिचान चितवनको भरतपुर अस्पतालमा भएको हो । घाइतेको अवस्था बुझ्न र शव लिनको लागि भारतको भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से आज बिहान नेपाल आउनुभएको थियो ।

काठमाण्डौ ओर्लिएलगत्तै उहाँ त्रीबी शिक्षण अस्पताल महाराजगञ्ज पुगेर १६ जना घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो । गृहमन्त्री रमेश लेखक पनि खड्सेसँगै अस्पताल पुग्नुभएको थियो । घाइतेको अवस्था जानकारी लिएसँगै उहाँले सिंहदरबार पुगेर गृह मन्त्रालयमा पुगेर गृहमन्त्री रमेश लेखकसँग भेट गर्नुभएको छ ।

गृहमन्त्रीसँगको भेटमा राज्यमन्त्री खड्सेले दुर्घटनापछि लगत्तै उद्धार हुन सकेको भन्दै उहाँले सन्तोष व्यक्त गर्नुभएको छ । उहाँले उद्धारमा संलग्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सक्रियताका कारण केही व्यक्तिलाई बचाउन सकेको भन्दै प्रशंसा गरेको जानकारी दिनुभयो ।

राज्यमन्त्री खड्सेले आफू शिक्षण अस्पताल पुगेर बिरामीसँग बुझ्दा उपचार राम्रोगरी भइरहेको पाएको पनि आफूलाई बताएको उहाँले उल्लेख गर्नुभयो । गृहमन्त्रीसँगको भेटपछि राज्यमन्त्री खड्से चितवन पुगेर २५ जनाको शवसहित भारतीय वायुसेवाको विमानबाट भारत जानुभएको छ । हिजो भारतीय पर्यटक सवार बस तनहुँको ऐनापहराबाट मर्स्याङदी नदीमा खस्दा २७ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । उज्यालो

प्रकाशित मिति: २०२४-०८-२४ , समय : १८:२२:२९ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्