बसको ठक्करबाट युवकको मृत्यु भएपछि सप्तरीको हनुमाननगर बजार दिनभरि तनावग्रस्त

मिति: २०२४-०८-२३ , समय : २१:२९:२५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर बजारमा बिहीबार साँझ बसको ठक्करबाट एक युवकको मृत्यु भएपछि शुक्रबार दिनभरि तनावग्रस्त छ।

सप्तरीको भारदह–राजविराज सडक खण्ड अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका–५ योगिनियामा बिहीबार साँझ पौने ७ बजे को ३० प ८१०९ नम्बरको मोटरसाइकललाई को १ ख ४०४६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो।


ठक्करबाट मोटरसाइकल चालक हनुमाननगर कंकालिनी–७ का २२ वर्षीय धुरुप मण्डल टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए। घाइते मण्डललाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएको थिए।

तर, उपचार गर्न नपाउँदै उनलाई डाक्टरले मृत घोषणा गरेका थिए। घटनाको विरोधमा स्थानीय बासिन्दाहरूले बिहीबार साँझ नै इलाका प्रहरी कार्यालय हनुमाननगर अगाडि टायर बालेर विरोध गरेका थिए।

यता शुक्रबार बिहानैदेखि स्थानीयले हनुमाननगर बजार बन्द गराउँदै विरोध प्रदर्शन गरिरहेका छन्।

प्रकाशित मिति: २०२४-०८-२३ , समय : २१:२९:२५ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित