सालकको खपटा तस्करी गर्ने सप्तरीका शिक्षकसहित ५ जना पक्राउ
मिति: २०२४-०८-२२ , समय : ०७:४५:२६ , गामघर डेस्क
मिति: २०२४-०८-२२ , समय : ०७:४५:२६ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । सालकको खपटा तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले सरकारी शिक्षकसहित सप्तरीका २ जनालाई पक्राउ गरेको छ।
सप्तरीको अग्निसाईर कृष्ण सवरण गाँउपालिका–१ का शिक्षक ५५ वर्षीय उमेशप्रसाद चौधरी र कञ्चनरुप नगरपालिकाका ४५ वर्षीय बासुदेव सरदारलाई मोरङ प्रहरीले पक्राउ गरेको हो। चौधरी अग्निसाईर कृष्ण सवरण–१, जण्डौलको ठाकुरजी मावीका शिक्षक हुन।
वडाअध्यक्ष सवजुल खलिफाले धेरै कुरा जानकारी नपाएपनि शिक्षक चौधरी पक्राउबारे प्रारम्भिक जानकारी पाएको बताए। सरदार मोरङको पथरीबाट र शिक्षक चौधरी उदयपुरको वेलका नगरपालिका–३ रामपुर ठोक्सिलाबाट १ भदौमा पक्राउ परेका हुन। उनीहरुसँगै मोरङका १ र उदयपुरका २ सहित अन्य तीन जना पनि पक्राउ परेका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार गत १ भदौमा इलाका प्रहरी कार्यालय पथरीले प्र. १–०२–०५२ प ११६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा चालक रंगेली नगरपालिका १ का ४५ वर्षीय गगनकुमार गच्छदार र पछाडि बसेका सप्तरीको कञ्चनरुपका सरदार ८५० ग्राम सालकको खपटासहित पक्राउ परेका थिए।
मोरङको बेलबारीबाट पथरीतर्फ आउँदै गरेका उनीहरुले बोकेको झोलामा खपटा बरामद भएको थियो। उनीहरुको विषयमा थप अनुशन्धान गर्ने क्रममा उदयपुरको बेलका नगरपालिका–३, रामपुर ठोक्सिलाबाट अन्य तीन जना पक्राउ परेका थिए।
पक्राउ पर्नेमा शिक्षक चौधरीसहित स्थानीय ४८ वर्षीय कृष्णराज मगर र बेलका नगरपालिका–६ का ५६ बर्षीय डिकबहादुर पूर्वछाने मगर थिए। उनीहरुको साथबाट प्रहरीले बा ८२ प ८८०५ र को ११ प ७६२१ नम्बरका २ वटा मोटरसाइकल र ३ केजी ७१२ ग्राम सालकको खपटा बरामद गरेको थियो।
सन् १९७३ देखि नै संरक्षित प्राणीको सूचीमा रहेको सालकलाई तस्करी तथा वासस्थान विनाशका कारण सङ्कटग्रस्त जनावरका रुपमा राखिएको छ। यो जनावर विश्वबाटै लोप हुने अवस्थामा छ। एसिया र अफ्रिकामा सालका ८ प्रजाति अस्तित्वमा छन्।
प्रत्येक दिन संसारभर ३ सय वटा सालक मारिने अनुमान छ। नेपालमा कालो खपटा भएको चाइनिज प्याङ्गोलिन र फुस्रो खबटा भएको इन्डियन प्याङ्गोलिन पाइन्छन। तीमध्ये चाइनिज प्याङ्गोलिन विश्वकै अति संकटापन्न सूचीमा पर्छ। नेपालमा पाइने स्तनधारीमध्ये यो एउटै मात्र अन्तर्राष्ट्रिय रूपमै अति संकटापन्न वन्यजन्तु हो।
नेपालमा संरक्षित वन क्षेत्रसँगै सामुदायिक वनमा सालक बढी मात्रामा पाइन्छ। सालक अनुसन्धानमा क्रियाशील साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान केन्द्रका अनुसार नेपालका ४३ जिल्लामा सालक पाइन्छ। सरकारको प्याङ्गोलिन संरक्षण कार्ययोजना (सन् २०१८–२०२२) अनुसार चाइनिज प्याङ्गोलिन भक्तपुर, बागलुङ, चितवन, धादिङ, धनकुटालगायत २३ जिल्लामा पाइन्छ।
इन्डियन प्याङ्गोलिन कञ्चनपुर, बारा, पर्सा, सुर्खेतलगायत ७ जिल्लामा र डडेल्धुरा, सल्यान, म्याग्दी, कास्की, नुवाकोट, सिरहा, मोरङ लगायत १४ जिल्लामा दुवै या एक प्रजातिको सालक पाइने उल्लेख गरेको छ।
प्रकाशित मिति: २०२४-०८-२२ , समय : ०७:४५:२६ , 8 months अगाडि