काठमाण्डौ सहित देशभर वर्षा : मधेस प्रदेशमा बाढीकाे जोखिम

मिति: २०२४-०८-२१ , समय : ०८:०२:५७ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशभर पानी परेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ सरेकाले देशभर मनसुनी वायु सक्रिय भएर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सात वटै प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै बाराको सिमरा विमानस्थलको जल मापन केन्द्रमा १ सय २८ मिलिमिटर वर्षा मापन भएको छ । पर्साको रङ्गापुर टांडी बजारमा १ सय १७ दशमलव ८, कैलालीको धनगढीमा ९८ दशमलव ४, कञ्चनपुरको सुन्दरपुरमा ९८, बाराको कोल्भीमा ९० दशमलव ४, कञ्चनपुरको हनुमान नगरमा ८४ दशमलव ४, लमजुङको बेसीशहरमा ६६ मिलिमिटर पानी परेको छ ।

यस्तै ताप्लेजुङ, सङ्खुवासभा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक लगायतका जिल्लामा पनि पानी परेको छ ।

पछिल्लो ३ घण्टा पर्साको रङ्गापुर टांडी बजार, बाराको सिमरा, पर्वानिपुर, कलैया, अमलेखगञ्ज र आसपास ठूलो वर्षा भएको र थप वर्षा हुन सक्ने भएकाले यो क्षेत्र भई बहने दुधौरा, पसाहा लगायत साना खोलाहरुमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा बिहान १० बजे सम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति: २०२४-०८-२१ , समय : ०८:०२:५७ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित