समाचारकाे प्रभाव: जनकपुर प्रादेशिक अस्पतालमा गलत ल्याब रिपोर्ट दिनेमाथि कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

मिति: २०२३-०३-१५ , समय : ०४:३०:०८ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
समाचारकाे प्रभावले मधेश प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पतालका निर्देशक डा. प्रमोद कुमार यादवसहितलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

प्रादेशिक अस्पतालको ल्याबमा गलत रिर्पोट दिने गरेको तथा कार्यालय सहयोगीले ल्याब टेस्ट गर्ने गरेको समाचार गामघर डटकम अनलाइन सहितका अन्य सन्चारमाध्यममा सार्वजनिक भएपछि मुख्यमन्त्री सरोजकुमार यादवले अकास्मिक छड्के अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा उनले अस्पतालका निर्देशक यादवसहित गलत ल्याब रिपोर्ट दिनेहरुमाथि कारबाही गर्न निर्देशन दिएका हुन् ।

सोमबार उनले छड्के अनुगमन गरेपछि निर्देशक लगायत धेरै चिकित्सक अनुपस्थित रहेको पाइएको थियो ।
प्रतिष्ठानकी सहकुलपति समेत रहेकी सामाजिक विकासमन्त्री सुरिता कुमारी साहलाई मुख्यमन्त्री यादवले निर्देशकसहित गलत ल्याब रिपोर्ट दिनेहरुमाथि कारबाही गर्न निर्देशन दिए ।

ल्याबका प्रमुख परमेश्वर यादवलाई गलत रिपोर्ट बनाउने कर्मचारीमाथि पनि कारबाही गर्न निर्देशन दिएका छन् ।

उपराष्ट्रपतिको चुनावका कारणले निर्वाचन आचार संहिता लागेको बताउँदै आचार संहिता हटेपछि अस्पतालका निर्देशक डा. यादवलाई परिवर्तन गर्ने प्रतिष्ठानका सह–कुलपति एवं सामाजिक विकास मन्त्रीलाई मुख्यमन्त्रीले निर्देशन दिएका हुन् ।

प्रादेशिक अस्पतालको ल्याबको परीक्षणको शुल्क नीजि अस्पताल जस्तै भए पनि सेवा विश्वसनीय र भरपर्दो नभएको गुनासो सर्वसाधारणबाट हुन थालेको छ ।

अस्पतालले मधेश प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सर्लाही तथा बागमती प्रदेशका सिन्धुली र कोशी प्रदेशका उदयपुरसम्मका बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । प्रतिष्ठान मातहत अस्पताल आए यता उपचार सेवा भद्रगोल बनेको छ ।

प्रकाशित मिति: २०२३-०३-१५ , समय : ०४:३०:०८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित