पाँच लाख नयाँ सङ्गठित सदस्य थप्न जसपा नेपालले चार महिने अभियान चलाउने

मिति: २०२४-०८-१४ , समय : १९:०६:१२ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । जनता समाजवादी पार्टी (जसपा) नेपालकाे केन्द्रीय समिति बैठकले सङ्गठन विस्तारका लागि चार महिने जनअभियानमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

यही साउन २७ गतेदेखि शुरू भई आज सम्पन्न केन्द्रीय समिति बैठकले सदन र सडकमा बलियो उपस्थिति जनाउँदै सङ्गठन निर्माणका लागि जनअभियान सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नुभएको राजनीतिक, साङ्गठनिक एवम् जनअभियानको प्रतिवेदन राय सुझावसहित सर्वसम्मतले पारित गरेको छ । बैठकले भूगोल, क्षेत्र, योग्यता, क्षमता र विविधताका आधारमा सङ्गठन निर्माण एवम् जनअभियानका लागि केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको छ ।

आउँदाे भदाै ९ गते काठमाण्डाैमा औपचारिक कार्यक्रम गरी पार्टी अध्यक्ष यादवले जनअभियानको उद्घाटन गर्नुहुनेछ । प्रथम चरणमा जनअभियान चार महिनाका लागि मङ्सिर मसान्तसम्मका लागि तोकिएको छ । पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्न चार महिने सङ्गठन निर्माण अभियान चलाउने प्रस्तावलाई केन्द्रीय समितिले पारित गरेको थियो ।

बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले आउँदाे २०८४ को चुनासम्म सम्पूर्ण पार्टी पङ्क्तिलाई सङ्गठन निर्माणमा जुट्न निर्देशन दिनुभयो । उहाँले जसपा नेपाललाई बलियो शक्तिको रूपमा स्थापित गर्ने गरी नागरिकमाझ पुग्न आग्रह गर्नुभयो । रासस

प्रकाशित मिति: २०२४-०८-१४ , समय : १९:०६:१२ , ४ महिना अगाडि