मधेस प्रदेश : विषाक्त माछा खाँदा एकै परिवारका तीन बालबालिकाको मृत्युु

मिति: २०२४-०८-१३ , समय : ०८:०१:५१ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको बाराको सिम्रौनगढ नगरपालिका–७ मा विषाक्त माछा खाएका एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका नरेश रामको परिवारले विषाक्त खाना (माछा) खाँदा उहाँका दुई छोरी र एक छोराको ज्यान गएको हो ।

शनिवार नरेश रामले भारतबाट माछा बेच्न आएका व्यापारीबाट माछा खरिद गर्नुभएको थियो । राति खाना पकाएर सबै परिवारका सदस्यले खाएपछि केही समयमै नरेश रामका छोरीहरू नौ वर्षीया लालिमा राम र सात वर्षीया पुष्पा राम तथा पाँच वर्षीय छोरा कृष्णन्दन रामको पेट दुख्ने, बान्ता हुने र झाडापखालाको समस्या देखिएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूलाई उपचारका लागि स्थानीय सिम्रौनगढकै स्वास्थ्य क्लिनिकमा लगिएको थियो । तर स्वास्थ्य चौकीले स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो ।

अस्पताल पुग्नुअघि नै नौ वर्षीया लालिमा रामको बाटोमै ज्यान गएको थियो । बाँकी दुई जना बालबालिकाको अवस्था थप जटिल भएपछि कलैया अस्पतालले उनीहरूलाई वीरगन्ज पठाएको थियो । वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचारको क्रममा पुष्पा राम र कृष्णदन्दन रामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ती बालबालिकाको फुड प्वाइजनको कारण ज्यान गएको उपचारमा संलग्न डाक्टरको प्रारम्भिक अनुमान छ । घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभएको छ ।

प्रकाशित मिति: २०२४-०८-१३ , समय : ०८:०१:५१ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित