नेपाल–भारत सीमानाकामा कडाइ : रक्सोल सीमानाकामा उच्च निगरानी, सादा पोसाकमा प्रहरी परिचालन ,परिचयपत्र अनिवार्य
- बंगलादेशमा उत्पन्न राजनीतिक घटनाक्रमले सम्भावित घुसपैठको जोखिम मध्यनजर गर्दै भारतसँग जोडिएका नेपाली सीमामा कडाइ, - बंगलादेशसँग नजिक रहेको काँकडभिट्टामा रात्रिकालीन गस्ती पनि
मिति: २०२४-०८-०९ , समय : ०८:१६:५४ ,
गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
बंगलादेशमा उत्पन्न राजनीतिक घटनाक्रमले बंगलादेशी नागरिक प्रवेश तथा सम्भावित घुसपैठको जोखिम बढेपछि नेपाल–भारत सीमानाकामा कडाइ गरिएको छ । पूर्वी काँकडभिट्टादेखि पश्चिम गड्डाचौकीसम्मका नाकामा कडाइ गरिएको हो ।
नाकामा तैनाथ सुरक्षाकर्मीले आवतजावत गर्ने सबैको परिचयपत्र अनिवार्य हेर्ने गरेका छन् । नाकाको जोखिमअनुसार सादा पोसाकमा प्रहरी परिचालन गर्नेदेखि प्रहरीले रात्रिकालीन गस्ती गर्नेसम्मका गतिविधि पनि बढाएका छन् ।
गत सोमबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले बंगलादेशको राजनीतिक उथलपुथलबाट नेपालमा सुरक्षा चुनौती बढ्न सक्ने भन्दै सीमानाकामा सुरक्षा सतर्कता बढाई चेकजाँचमा कडाइ गर्ने निर्णय गरेको थियो । सोहीअनुसार सशस्त्र प्रहरीले भारतसँगको नाकामा कडाइ गरेको छ । स्रोतका अनुसार जोगबनी नाकाबाट प्रवेश गर्न खोज्ने एक बंगलादेशीलाई बुधबार भारततर्फ फिर्ता पठाइएको छ । भारततर्फ धेरै बंगलादेशी आइसकेकाले तीमध्ये केही नेपाल आउन सक्ने आकलनका आधारमा सीमाबाट आउनेहरूसँग सशस्त्र प्रहरीले परिचयपत्र अनिवार्य खोज्ने गरेको हो ।
बंगलादेशसँग नजिक रहेको काँकडभिट्टामा रात्रिकालीन गस्ती पनि
बंगलादेशसँग करिब ३८ किलोमिटरको दूरीमा रहेको नेपाल–भारत सीमानाकामा कडाइ गरिएको छ । बंगलादेशसँग नजिक रहेकाले झापामा कडाइ गरिएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताए ।
‘नेपाल प्रहरी र सशस्त्र प्रहरीले खुला सीमानामा दिउँसो र रात्रिकालीन गस्ती गरिरहेका छन्,’ उनले भने, ‘बंगलादेशी नागरिकको सम्भावित प्रवेशलाई रोक्न नाकामा कडाइ गरेका हौँ । सशस्त्र प्रहरीको एक नम्बर बाहिनीबाट थप मद्दतका लागि टोली पनि आएर नाकामा कडाइ गरेका छौँ ।’
प्रशासनले अध्यागमन कार्यालय काँकडभिट्टालाई पनि कडाइ गर्न निर्देशन दिइएको छ । ‘बंगलादेशसँग हाम्रो सीधै सिमाना छैन । भारतसँगको सिमाना छ । भारतले पनि कडाइ गरेका कारण बंगलादेशी नागरिक आएका छैनन्,’ प्रजिअ बाँस्तोलाले भने, ‘भारतमा छिरे भने हामीलाई समस्या हुने हो । अहिले छिरेका छैनन् । भारतीय पक्षसँग पनि सहकार्य गरिरहेका छौँ ।’
अगस्त १ मा भारतले तेस्रो देशका नागरिकका लागि आवतजावत खुला गरेयता हालसम्म दुई बंगलादेशी नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । तीमध्ये एक बंगलादेशी नागरिक स्वदेश फर्किएको कार्यालय प्रमुख मोहन पनेरूले जानकारी दिए । उनका अनुसार एकजना नेपालमै छन् । ‘त्यसवेला हामीलाई कडाइ गर्न निर्देशन थिएन । भर्खर नाका खुलेकाले गलत सन्देश जाने हुनाले प्रवेश दियौँ,’ उनले भने, ‘अहिले कडाइ गर्ने निर्देशन छ । बंगलादेशी नागरिकले प्रवेशका लागि निवेदन दिए स्वीकार नगर्ने, नेपाल आएमा सुरक्षाकर्मी र प्रशासनलाई जानकारी गराएर स्वदेश फर्काउने निर्देशन छ । तर, हालसम्म बंगलादेशी नागरिक आएका छैनन् ।’
रक्सौल सीमानाकामा उच्च निगरानी, सादा पोसाकमा प्रहरी परिचालन
मुख्य भन्सार नाका वीरगन्ज रक्सौल सिमानाकामा सुरक्षाकर्मीले उच्च निगरानी थालेका छन् । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म वीरगन्ज भन्सारका डिएसपी सुरज रिजालका अनुसार बंगलादेशी नागरिक नेपाल–भारत सीमा वारपार गर्न सक्ने भएकाले आवतजावतमा कडाइ गरिएको हो । जिल्लाका अन्य खुला नाकामा पनि सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए । बंगलादेशको पछिल्लो राजनीतिक घटनाअघि रक्सौल नाकामा सशस्त्र प्रहरीले दैनिक ४० जनालाई खटाउँदै आएकामा हाल बढाएर ६० पुर्याएको छ ।
सम्भावित घुसपैठ रोक्न सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । इनर्वा प्रहरी चौकीका प्रमुख अजय रामका अनुसार सीमानाकामा सशस्त्र प्रहरीको सुरक्षा घेराभन्दा अगाडि सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ ।
पश्चिमी नाकाहरूमा पनि उच्च सतर्कता
भारतसँगका पश्चिमी नाकाहरू बाँकेको नेपालगन्ज, कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीमा पनि कडाइ गरिएको छ । भारतबाट आउने व्यक्तिको कागजपत्र हेरेर मात्र प्रवेश गर्न दिइएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले बताए ।
‘नेपालगन्ज नाका भएर आउने विदेशीको निगरानी पहिलेदेखि हुँदै आएको छ । तर, बंगलादेशमा भएको घटनापछि त्यहाँका नागरिक भारत हुँदै नेपाल आउन सक्ने सम्भावना देखेर थप कडाइ गरेका छौँ,’ उनले भने, ‘शंकास्पद व्यक्तिमाथि थप निगरानी हुन्छ । कागजात नभए भारत फिर्ता पठाउँछौँ ।’ तर, हालसम्म शंकास्पद व्यक्ति फेला नपरेको उनले बताए । नयाँ पत्रिका
प्रकाशित मिति: २०२४-०८-०९ , समय : ०८:१६:५४ , ५ महिना अगाडि